शंखरापुर नगरपालिकाको वडा नंबर १ को वडाध्यक्ष पदका लागि राप्रपाबाट दोर्जे लामाले उम्मेद्वारी घोषणा गरेका छन् । कुनै सरकारी पदमा नरहेपनि ब्यक्तिगत पहल र प्रयासमा उनले वडा नंबर १ को विकासका लागि सहयोग–सहकार्य गर्दै आएको बताएका छन् ।। प्रस्तुत छ उम्मेदवार दोर्जे लामासँग गोर्खा प्रेसले गरेको यो अन्तरवार्ता :
तपाई वडाध्यक्षमा किन उठ्दै हुनुहुन्छ ?
म लामो समयदेखि स्थानीय राजनीतिको नजिक छु । आफ्नो पेशा व्यवसाय गर्दै राजनीतिमा आवद्ध भएपनि अहिले म सक्रिय रुपमा अगाडि बढेको छु । विगतमा अन्य दलका संगठनमा रहेर काम गरेपनि ति दलले जनताप्रति जुन भूमिका निर्वाह गर्नुपर्ने थियो, जुन काम गर्नुपर्ने थियो, त्यसलाई ध्यान नदिएको अवस्थाले गर्दा म अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएर अघि बढेको छु ।
स्थानीय स्तरमा धेरै समस्याहरु छन् । वडा कार्यालय, नगरपालिकाका प्रतिनिधिले देखेर पनि जनताका समस्या समाधानमा अग्रसर नहुँदा सोचे जस्तो विकासका काम हुन सकेको छैन् । काठमाडौंको नगरपालिका भएर पनि कर्णाली, डोल्पा जस्तो अवस्थामा बिजुली नपुगेको टोल समेत फेला पारेर मैले आफ्नो पहलमा वडा नंबर १ को केराबारी भन्ने ठाउँमा बिजुली पु¥याउने काम गरेँ । माधव कुमार नेपालको क्षेत्र जहाँ ३० बर्षसम्म पनि बिजुलीको लाइन गएको रहेनछ । ४ सय मिटर तार लगेर त्यहाँ बत्ति बालिदिएको छु । पहिरोले बाटो बन्द भएको ठाउँमा वडा कार्यालय, नगरपालिकाले नहेर्दा मेलै आफैले डोजर लगेर बाटो सफा गर्ने काम गरे । वडा नंबर १ का विभिन्न स्थानमा सडक बत्ति राख्ने काम गरेँ । यस्तै पञ्चपालेमा त्यहाँका जनताको माग अनुसार मैले एउटा मन्दिर बनाउँन पहल गरेँ । अहिले मन्दिर तयार भइसकेको छ । केराबारीमा पहिरोले बाटो भत्काएका कारण किसानले दुध बेच्न बजार आउन नसक्ने अवस्था, बालबालिका स्कूल आउन समस्या परेको बेला बाटो बनाएर मैले आफ्नो तर्फबाट सक्दो सहयोग गरेँ ।
वडा नंबर १ मा जनताका लागि गर्नुपर्ने कामहरु अथाह छन् । बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा एउटा ब्यक्तिको हैसियतले सबै काम गर्न संभव नभएकोले मैले यो पटक राप्रपाबाट वडा नंबर १ को वडाध्यक्षका लागि उम्मेदवारी प्रस्तुत गरेको छु ।
तपाईको चुनाव जित्ने आधार के के छन् ?
मेरो चुनाव जित्ने आधार धेरै छन् । गएको ८ महिनामा मैले ब्यक्तिगत प्रयासमा वडा नंबर १ मा धेरै काम गरेको छु । हाम्रो ट्याक्सी संघको सहकार्यमा वडा नंबर १ मा मैले ६० वटा सडक बत्ति हालेको छु । बाटो हिलो भएको बेला बागधारादेखि छाप भञ्याङ्सम्म आफ्नै पहलमा डोजर लगेर मैले बाटो सफा गर्ने काम समेत गरेँ ।
वडा नंबर १ मा मैले प्रत्येक टोलमा टोल कमिटी तयार पारेको छु । कोही मानिस बिरामी भएर अस्पताल आउनुपर्ने अवस्थामा मैले आवश्यक सहयोग गर्दै आएको छु । मैले व्यक्तिगत तबरमा गर्न सक्ने सबै काम गरेको छु र म निर्वाचित भएमा काम गर्नका मसँग धेरै योजनाहरु छन् । स्थानीयले पनि मेरो भूमिकालाई मन पराएका कारण पार्टीको बिचारका साथै मेरो ब्यक्तित्वलाई हेरेर निर्वाचित गर्नुहुन्छ भन्ने मेरो बिश्वास छ ।

यदी तपाई वडा नंबर १ मा निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ ? तपाईका योजनाहरु के के छन् ?
वडा नंबर १ मा सबैभन्दा ठूलो समस्या पानीको छ । पानीको स्रोत र वितरण प्रणाली भएपनि त्यसको सदूपयोग र उचित व्यवस्थापन हुन सकेको छैन । वडा नंबर १ को छापमा हेर्ने हो भने यतिबेला पानीको हाहाकार छ । पानीको मुहान भएको कतिपय ठाउँमा त मैले पाइपहरु लगेर पनि वितरण गरेको छु । खानेपानी समस्या समाधान गर्नका लागि ठोस योजना बनाएर अघि बढ्छु् ।
अर्को भनेको सडकको समस्या छ । काठमाडौं मेलम्ची सडकमा जोडिएका सडकहरुको अवस्था दयनीय छ । कतिपय स्थानमा नयाँ सडक बनाउनुपर्ने अवस्था छ । ढकालगाँउ, पञ्चपाले, ढुङ्गानागाँउ, तामाङ्टोल, छापभञ्याङ्, नाङ्लेका विभिन्न शाखा सडकहरुको अवस्था सुधार गर्नेछु । बर्खामा पनि गाडि चल्ने गरी ग्राभेल हालेर, ड्रेन राखेर बलियो सडक बनाउने मेरो लक्ष्य छ ।
सिंचाईको क्षेत्रमा हेर्ने हो भने कुलो नहर छैन, भएको पनि व्यवस्थित छैन । कृषि क्षेत्र राम्रो बनाउँनका लागि कुलो नहर व्यवस्थापनका लागि पहल गर्नेछु । उन्नत बिउ बिजनको व्यवस्था गर्नेछु ।
हाम्रो स्वास्थ्य चौकीको सेवा प्रभावकारी हुन सकेको छैन् । स्वास्थ्य चौकीमा केहीदिन अघि गएर हेर्दा त्यहाँ सिटामोल समेत भेटिएन । स्वास्थ्य चौकीको अवस्था सुधार गर्छु ।
यस्तै शिक्षा क्षेत्रलाई हेर्दा चाँपाबोट मावीमा स्कुलको एउटा ब्लक भासिएको अवस्थामा पनि त्यहाँको वडाध्यक्षले मुक दर्शक भएर हेरिरहेको छ । वडाध्यक्षले त्यो देख्दापनि केही गर्ने ज्ञान छैन भने त्यो काम कसले गर्ने ? स्थानीय युवा भाइबैनीले खेल क्षेत्रमा सहयोग गर्नुप¥यो भनेका छन् । छाप भञ्जाङ्, पञ्चपाले, चापाबोट र नाङ्लेमा ४ ठाउँमा फुटबल मैदान बनाएर फुटबल खेलको विकास गर्ने योजना बनाएको छु ।
वडा नंबर १ का महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर उनीहरुलाई आत्मनिर्भर बनाउने योजना छ ।
वडा नंबर १ मा सबै प्रकारका सामाजिक कार्यहरु गर्नेछु । पाटी, पौवा, धारा आदी पुरातात्विक ढंगले निर्माण गर्नेछु ।
वडा कार्यालय अगाडि र चिहान डाँडामा पर्यटकीय हिसाबले बस्न र पिकनिक स्पटहरु बनाउनेछु, छाप भज्याङ, चाँपाबोट, पाङ्ग्रेबास, नाङलेमा सार्बजानिक शौचालयको ब्यबस्था गर्नेछु । तामाङ संस्कारको लास जलाउने चिता नाङलेमा निर्माण भैसकेको, र चाँपाबोटमा पनि चिहान डाडामा शुरु हुँदै गरेको छ । त्यसलाई व्यवस्थित बनाउँछु । वडा नंबर १ को समग्र विकास लागि पार्टीको सिद्धान्तका साथै व्यक्तिलाई हेरेर मलाई निर्वाचित गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।


प्रतिक्रिया