काठमाण्डौं, कार्तिक २६ गते ।
यस बर्षको विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपाली वैज्ञानिक परेका छन् ।
अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ग्लोबल र्याङ्किङमा ३१ जना नेपाली परेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का वैज्ञानिक डा. निरञ्जन कोइरालाले बताए ।
उनले भने, ‘सन् २०२५ को विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको वरीयता सूचीमा नेपालका ३१ जना वैज्ञानिकहरू पर्नु भएको छ ।’
उनका अनुसार स्ट्यानफोर्ड–एल्सेभियर शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूची एक वार्षिक ग्लोबल र्याङ्किङ हो जसले वैज्ञानिक विषयहरूमा विश्वका सबैभन्दा प्रभावशाली अनुसन्धानकर्ताहरूलाई पहिचान गर्दछ । जसमा नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन् ।
उक्त सूची अनुसार त्रिभुवन विश्वविद्यालयका ७ जना तथा नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी), बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेएच) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का २÷२ जनालगायत समावेश छन् । जसमा त्रिभुवन विश्वविलालयका अजय भट्टराई, रमेश प्रसाद अधिकारी, भीष्म कार्की, त्रिविका निरञ्जन पराजुली, त्रिविका रामप्रसाद शर्मा, त्रिविका गोविन्द प्रसाद ढुंगाना र त्रिवि शिक्षण अस्पतालका रञ्जित कुमार साह रहेका छन् ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेएच)का सञ्जीव कुमार शर्मा र सुमन रिजाल तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अरूण भक्त श्रेष्ठ र फिलिप वेस्टर शीर्ष वैज्ञानिकहरूको सूचीमा परेका छन् ।
यस्तै नेपालको सर्वोच्च अनुसन्धान निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिक डा. निरञ्जन कोइराला पनि स्ट्यानफोर्ड विश्वविद्यालयले एलसेभियरसँगको सहकार्यमा तयार पारेको प्रतिष्ठित सूचीमा परेका छन् ।
डा. कोइरालाले नेपालको औषधीय वनस्पति र जडिबुटीमा लुकेको सम्भाव्यताको प्रमाण र अन्तर्राष्ट्रिय अनुसन्धान र आविष्कारमा नेपालको बढ्दो भूमिकाबाट मान्यता पाएको बताए ।
उनले भने, ‘नेपाल चाँडै नै प्राकृतिक उत्पादनमा आधारित फाइटो–फार्मास्युटिकल औषधिको अग्रणी उत्पादक र निर्यातकर्ता बन्ने र देशको अर्थतन्त्रमा परिवर्तन ल्याउँछ ।’
उनले बायोग्यास, बायोडिजेल जस्ता वैकल्पिक ऊर्जालाई अनुदान र कृषकमुखी तथा व्यवसायिक नीति तथा योजनामार्फत प्रवद्र्धन गर्न सरकारले महत्वपूर्ण भूमिका हुने बताए ।

प्रतिक्रिया