भोलीदेखि सवारीचालक अनुमति पत्र छाप्ने, १२ लाखप्रति लाइसेन्स ६ महिनाभित्रै वितरणको तयारी

काठमाण्डौं, कार्तिक २० गते ।

यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र छाप्ने भएको छ । छपाइ भएका लाइसेन्स प्रक्रिया पूरा गरेर ६ महिनाभित्रै वितरणको तयारी भइरहेको सुरक्षण मुद्रण विभागले जनाएको छ ।

विभागले पहिलो चरणमा दैनिक ५ सय वटा लाइसेन्स छाप्ने तयारी गरेको छ । जम्मा १२ लाखप्रति लाइसेन्स छापिनेछ । छपाइको सुरुवात शुक्रबार सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले गर्ने कार्यक्रम तय भएको छ ।

काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्सको छपाइ थालिने विभागका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए । गएको ९ जेठमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणबीच बाँकी लाइसेन्स छाप्ने समझदारी भएको थियो ।

सवारीचालक अनुमतिपत्र छपाइको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ । यसपटकको छपाइ यसअघि यातायात व्यवस्था विभागले छापेको भन्दा प्रति लाइसेन्समै एक सय रुपैयाँ सस्तो पर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *