काठमाडौं, कार्तिक १९ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जाँचबुझ आयोगले बयान लिएको छ । सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछानेलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बयान लिएको हो ।
बयानका लामिछानेलाई आयोगले सिंहदरबार झिकाएको थियो । भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले आज बुधबार सिंहदरबारमा उनीसँग ६ घण्टा बयान लिएको हो ।
जेनजी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले नक्खु कारागारबाट लामिछानेलाई निकालेपछि अन्य कारागारबाट समेत कैदीबन्दी फरार भएका थिए ।
लामिछाने जेलबाट निस्किँदा सार्वजनिक भएको पत्रलाई लिएर अहिले पनि विवाद जारी छ । लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले आन्दोलनकारीले जेलमा आगजनी गर्न लागेपछि प्रशासनले नै उनलाई सुरक्षाका लागि आफन्तको जिम्मा लगाएको जिकिर गर्दै आएका छन् ।
पूर्वन्यायाधीश कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि बुधबार उनलाई जेलबाट निस्किँदा तयार भएको पत्र र जेलबाट किन र कसरी फरार भए भन्ने विषयमा सोधपुछ गरेको हो ।
लामिछाने जेलबाट निस्किएर घरमा बसेपछि चौतर्फी विरोध भएको थियो । यस्तै कारागार प्रशासनले पनि भागेका कैदीबन्दीलाई कारागार फर्किन सूचना जारी गरेपछि लामिछाने आफैँ कारागार फर्किएका थिए ।
उनी विभिन्न सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । अन्य सहकारीको अभियोगमा उनी धरौटीमा रिहा भए पनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा भने उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको थियो ।
रुपन्देही कारागारमा रहेका लामिछानेलाई उनकै माग अनुसार नक्खु कारागारमा सारिएको हो। लामिछानेले भने सहकारी ठगीमा आफू निर्दाेष रहेको दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया