काठमाडौँ, कात्तिक १२ गते
वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका स्वदेशी र कति विदेशी हजारौँ पर्यटक प्रभावित भएका छन् । मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् ।
म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सडक दुवै अवरुद्ध हुँदा पदयात्री रोकिएका हुन् । उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको लुक्लाभन्दा माथि करिब दुई हजार, लोबुचेमा २१० र गोरकक्षेपमा १२२ जना पर्यटक रहेकामा सबै सुरक्षित रहेको जनाइएको छ । साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण सास्ती खेप्नु परेको छ । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन ।
मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन् ।
बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

प्रतिक्रिया