आगामी प्रतिनिधिसभा सदस्यका लागि साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।

छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने आयोगको आग्रह छ । यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।

हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारणले निर्वाचन गराउन कठिन हुने आयोगको अनुमान छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको हो ।

यसकारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *