काठमाण्डौं । ट्रंकलाइन महसुल विवादमा रहेका बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार साँझ देखि विद्युत लाइन काटिदिएको छ ।
प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए ।
उद्योगीहरुले ट्रंक लाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै माग नै नगरेको, प्राधिकरणसंग कुनै सहमति तथा सम्झौता पनि नभएको बताउंदै बक्यौता तिर्न अस्वीकार गर्दै आएका थिए ।
चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा चारवर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउंदा आफूहरु अन्यायमा परेको भन्दै उद्योगीहरुले माग र खपत गरेको प्रमाण माग्दै आएका थिए ।
आफ्नो भार मिलान गर्दा प्राधिकरण आफैले उद्योगीले माग नै नगरेको अवस्थामा केही उद्योगहरु ट्रंक लाइनमा परेको बताएको थियो । यहाँका उद्योगीहरुले पूर्वका उद्योगहरुका समस्यासँग एकै ठाउँ राखेर हेर्दा आफूहरु अन्यायमा परेको दाबी गर्दै आएका छन् ।
यसअघिको सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि २६ वैशाख २०८२ मा विवादित महसुलका बारेमा पुनरावलोकनमा जान पाउने निर्णय भएको थियो ।
उद्योगीहरुले विवादको अन्त्य र न्यायका लागि वक्यौता पुनरावलोकन समितिमा निवेदन दिएका थिए । तर, कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि १० असोजमा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता पुनरावलोकन समिति बदर गरेको थियो ।

प्रतिक्रिया