दीपेन्द्रसिंह ऐरीको बलिङको बलमा नेपालको पहिलो रोमाञ्चक जित हासिल

काठमाडौं। दीपेन्द्रसिंह ऐरीको बलिङको बलमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा पहिलो रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार सम्पन्न सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले एक रनको जित हासिल गरेको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । यो सँगै नेपाल २०२६ को विश्वकप खेल्ने सम्भावना बलियो बनेको छ । समूह चरणबाटै दुई अंक ल्याएको नेपालले चार अंक पु¥याएको छ । ओमानको पनि समान अंक छ । यूएईको भने दुई अंक मात्र रहेको छ ।

यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिँदै एक विकेट लिए । बाँकी दुई ब्याटर रन आउट भए ।

यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । टी–२० आईमा उनको यो नवौं अर्धशतक हो ।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए । यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो ।

कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेनन् ।

यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *