काठमाडौं – प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । किनकि त्यो सरकारको आधिकारिक हुन्छ ।
तर प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग नगर्ने प्रधानमन्त्री कार्यालयका स्रोतले जनाएको छ । उनले फेसबुक, एक्स (ट्वीटर) र इन्सटाग्रामको नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवम् प्रवक्ता रविलाल पन्थले जारी गरेको प्रेस विज्ञप्तिमा अघिल्ला प्रधानमन्त्रीहरुले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको फरक युजरनेम छ । उनीहरुका अनुसार प्रधानमन्त्री कार्कीले पुरानो अकाउन्ट नचलाउने बताएकी थिइन् । त्यसैले उनकै चाहना अनुसार नयाँ अकाउन्ट खोलिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि पुरानो अकाउन्ट चलाउँदा अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीकै गतिविधिहरु देखिने भएकाले नयाँ प्रयोग गर्न थालिएको बताउँछन् ।
खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एक्स (ट्वीटर) अकाउन्ट मात्र हस्तान्तरण गरेको छ, त्यो पनि आइतबार मात्रै ।
फेसबुक र इन्स्टाग्राम भने अझै हस्तान्तरण भएको छैन । त्यसैले फेसबुक र इन्सटाग्राममा नयाँ अकाउन्ट खोलिएको खनालले बताए ।
फेसबुक र इन्सटाग्राम म्यानेज गर्ने विषयमा प्राविधिक टोलीहरुसँग सल्लाह भइरहेको उनले बताए ।

प्रतिक्रिया