२ पटक विश्व कप विजेता वेस्ट इन्डिजमाथि नेपालले ऐतिहासिक जीत दर्ता

काठमाण्डौं – नेपालले आइसिसीको पूर्ण सदस्य टिम विरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ । युएईको शारजाहमा शनिबार भएको पहिलो टी–२० खेलमा नेपालले २ पटक विश्व कप विजेता वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका नविन विदायसीले सर्वाधिक २२ रन, अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिएका थिए भने कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट लिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले ३० रन, गुल्शन झाले २२ रन र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

नेपालको १२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै खेललाई सुधार गरेको थियो । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

वेस्ट इन्डिजसंगको सिरिजको तालिका यस्तो छ ।
पहिलो टी–२० आई ः असोज ११, शारजाह
दोस्रो टी–२० आईः असोज १३, शारजाह
तेस्रो टी–२० आईः असोज १४, शारजाह

वेस्ट इन्डिजसँग यो सिरिज खेले लगत्तै नेपाली टोली विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । यो समूहबाट शीर्ष दुईमा परे सुपर–६ मा पुग्नेछ ।

सुपर–६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

ओमानमा तीन समूहका नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ । अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् ।

तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *