काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते गर्ने मध्यावधि निर्वाचनका लागिकोल मतदाता नामावली दर्ता खुल्ला गरेको छ । आगामी असोज ३० गतेसम्म मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था रहेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन मिति घोषणा भएसँगै स्थगित भएको मतदाता नामावली संकलन कार्य पुनः सुरू गर्ने भएको हो । आयोगले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।
नागरिकता लिएर पनि अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता नगराएका नागरिकहरूले बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा दर्ता गर्न सक्ने व्यवस्था गरीएको आयोगले जनाएको छ ।
यस अवधिमा नाम दर्ता मात्रै नभई विवाह वा बसाइँसराइका कारण स्थानान्तरण गर्नुपर्ने मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम वा अन्य विवरणमा त्रुटि भए सच्याउनसमेत सकिने आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न सबै योग्य नेपाली नागरिकलाई नामावलीमा अनिवार्य नाम दर्ता गर्न आयोगले भनेको छ ।


प्रतिक्रिया