काठमाडौं । जेनजी आन्दोलनको मौकामा कारागार तोडेर भागेका कैदीबन्दीहरु पक्राउ परेको छैन । कैदीबन्दीको कारण समाजमा असुरक्षा बढेको र विदेश भाग्न सक्ने भन्दै अहिले कारागार व्यवस्थापन विभागले यसबारे गृहकार्य सुरु गरेको छ ।
कैदीबन्दी समाजमा खुलेआम हिँड्दा असुरक्षा थपिएको छ साथै विदेश भाग्ने जोखिमसमेत बढेको छ । तथ्यांकअनुसार अझै ६ हजार ८१३ कैदीबन्दी पक्राउ पर्न बाकी छन् । कारागार कार्यालयहरू तोडफोड तथा जलेर नष्ट भएकाले कैदीहरूको विवरणसमेत जलेकाले केही समस्या भएको बताइएको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार अहिले धमाधम फरार कैदबन्दीहरूको विवरण अध्यावधिक गर्ने काम भइरहेको छ । ‘हामीले कैदीबन्दीको वैयक्तिक विवरण अध्यावधिक गरिरहेका छौं । यसबारे अध्यागमनलाई पनि जानकारी गराएका छौं,’ न्यौपानेले भने ।
अध्यागमन विभागले पनि यसबारे काम भइरहेको बताएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले कारागार व्यवस्थापन विभागले पठाएका विवरणअनुसार अध्यागनले रेकर्ड राखेर निगरानी सुरु गरेका छौं । ‘विदेश भाग्ने सम्भावना हुने भएकाले कारागार विभागलाई जतिसक्दो चाँडो विवरण पठाउन भनेका छौं । भोलिसम्ममा फरार सबै कैदीबन्दीको विवरण पठाउने जानकारी आएको छ, तिवारीले भने ।
जेनजी आन्दोलनको क्रममा २८ वटा कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । ९ वटा बाल सुधार गृहबाट ९४६ कैदीबन्दी गरी जम्मा १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए ।
तीमध्ये कारागारतर्फ ७ हजार ३९४ र सुधारगृहतर्फ ३४१ गरी ७ हजार ७३५ कैदीबन्दी कारागार फिर्ता भइसकेका छन् । यीमध्ये केही आफैं कारागार फिर्ता आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो ।

प्रतिक्रिया