काठमाडौं – हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ जना बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ ।
जसमा नेपालका विपिन जोशीको तस्वीर पनि राखिएको छ । ती तस्बिरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ । इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन् ।
शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनस् तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन् ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध सुरु भएपछि कम्तीमा ६५,२०८ जना मारिएका छन् । जसमा १ लाख ६६,२७१ जना घाइते भएका छन् । मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन् ।
गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौँ मानिस मारिएका छन्, घरहरू ध्वस्त पारिएका छन्, हजारौँ मानिस भाग्न बाध्य भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ ।

प्रतिक्रिया