नारायणगढ–मुग्लिन सडकखण्डमा सवरी सञ्चालनमा आउन ४ घण्टा लाग्ने अनुमान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा ठूलो पहिरो गएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक पुरै ढाकेको छ ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताएको छ ।

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका साथै सेती दोभान क्याम्पमा रहेको स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरोसंगै ढुङ्गा झरिरहेकाले थप पहिरो रोकिन समय लाग्ने छ । पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।
शुक्रबार दिउँसो पटक पटक खसेको पहिरो सफा गरिएको थियो । तर साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *