काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय सचिवालयको बैठकले संविधान दिवसमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते जबरजस्ती संविधान जारी गरिएको भन्दै शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले त्यस दिनलाई ‘कालो दिन’का रूपमा मनाउँदै आएकोमा यस वर्ष पनि विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले जेनजी आन्दोलनलाई समर्थन गर्ने निर्णय गर्दै त्यसको भावनाअनुरूप सरकारले देशको विविधता र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरेको छ । साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकारलाई कमजोर बनाउने कुनै षड्यन्त्र भने स्वीकार नगर्ने चेतावनी दिएको छ ।
त्यसै गरी, भाद्र २३ र २४ गतेको आन्दोलनमा अराजक तत्त्व घुसपैठ गरी विभिन्न राजनीतिक दलका कार्यालय, राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका लगायतका प्रमुख संरचना, नेताहरूसहित व्यवसायीहरूको घर तथा व्यवसायमा तोडफोड र आगजनी गरेकोप्रति मोर्चाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
मोर्चाले यस घटनाका दोषीलाई कडा कारबाही गर्न, क्षतिग्रस्त सम्पत्तिको यथोचित छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया