काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बढिमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने कार्कीले बताएकी छन् ।’
राजनीतिक व्यक्तिलाई मन्त्रिपरिषद् नराख्ने र विषय विज्ञलाई मन्त्रीमा प्राथमिकता दिने उनले अन्तर्वार्तामा उल्लेख गरेकी छन् । मन्त्रालयको जिम्मेवारी अनुभव र क्षमता अनुसार हेरेर दिने प्रधानमन्त्री कार्कीले अन्तर्वार्तामा बताएकी छन् ।
अनुभव र क्षमताको आधारमा रामेश्वरप्रसाद खनालले अर्थ, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्यालले गृह; कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । अझै ७ जनालाई मन्त्री बनाउनु बाकी रहेकोछ । कसलाई मन्त्री बनाउने भन्नेबारे छलफललाई तिब्रता दिएकी छन् । मन्त्रिपरिषद्लाई कहिले सम्ममा पूर्णता दिने हुन् भन्ने टुङ्गो छैन ।
केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन आन्दोलन गर्ने जेनजी, राजनीतिक दलहरू र अन्य सबै सरोकारवाला पक्षको प्रतिनिधित्व मन्त्रिपरिषद् सुनिश्चित गर्न कार्की लागिरहेको निकट स्रोतले बतायो ।
आफू प्रधानमन्त्री नियुक्त भएपछि कस्ता खालका व्यक्तिलाई मन्त्री बनाउने भनेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग पनि सुझाव मागेकी थिइन् । पौडेलले मुलुकको परिस्थिति जटिल अवस्थामा पुगेको बेलामा संविधानमा रहेको बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीमा नियुक्त गरेकाले दिएको म्याण्डेट पूरा गर्ने प्रतिबद्ध रहने र ‘स्टेक होल्डर’लाई सहजीकरण गर्न सक्ने पात्र खोज्न सुझाएका थिए । सोही अनुसार कार्कीले खनाल र घिसिङलाई सरकारमा समेटेकोमा राष्ट्रपति सन्तुष्ट देखिएको स्रोत बताउँछ ।
मन्त्रालयगत विशेषज्ञताका आधारमा पनि मन्त्रिपरिषद्लाई विस्तार गर्नुपर्ने दबाब कार्कीलाई छ । उपयुक्त पात्रको खोजीमा कार्की आफैँ र अघोषित सचिवालयले पनि काम गरिरहेको छ ।

प्रतिक्रिया