वडा नं. ८ का अध्यक्ष पोते थिङ भन्नुहुन्छ : ‘शंखरापुरको नगर सभा वैधानिक ढङ्गले सम्पन्न भएको हो’

गत असार ७ गते जहरसिंह पौवामा सम्पन्न भएको शंखरापुर नगरपालिकाको दशौं नगर सभामा उत्पन्न विवाद अझै सेलाएको छैन । नगर सभामा बैठक कक्षमा सहभागी हुनु पूर्व उपस्थितिमा हाजिरी गर्ने विषयमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष सहदेव श्रेष्ठ र ४ का अध्यक्ष सुना बहादुर तामाङ तथा सदस्यहरू र उपप्रमुख समिता श्रेष्ठले बैठक बहिष्कार गरेका थिए । तर सोही दल नेपाली काङ्ग्रेसबाटै निर्वाचित वडा नम्बर ८ का अध्यक्ष पोते थिङ र वडा नम्बर २ बाट निर्वाचित अध्यक्ष रणबहादुर थिङ र वडा सदस्यहरू नगर सभामा सहभागी भई बजेट पास गर्न भूमिका खेलेका थिए । नगर सभामा विवाद उत्पन्न हुनुको कारण के हो ? किन एउटै दलबाट निर्वाचित वडाध्यक्षहरू दुई भागमा बाँडिए । यसको कारण के हो ? प्रस्तुत छ यिनै समसामयिक विषयमा केन्द्रित रहेर नगर सभामा सहभागी हुनुभएका वडा नम्बर ८ का अध्यक्ष पोते थिङसँग गरिएको यो अन्तरवार्ता :

नगर सभामा भएको के थियो ? तपाइकै दल नेपाली काङ्ग्रेसबाट निर्वाचित उप–प्रमुख सहित ९ र ४ का अध्यक्ष र सदस्यहरू बाहिर हुनुहुन्थ्यो ? तपाई र वडा नम्बर २ का अध्यक्ष नगर सभामा सहभागी हुनुभएको थियो । तपाईँहरू भित्र, उहाँहरू किन बाहिर बस्नुभएको ? 

बाहिर बस्ने साथीहरूलाई सोध्नुभए हुन्छ उहाँहरू किन बाहिर बस्नुभएको हो । बजेटमाथि एक हप्ता सँग–सँगै बसेर छलफल गरेर गएको हो । मैले बुझेको सबै नै बसेर नीति तथा कार्यक्रम बनाउने र बजेट बनाउन हामी सँग–सँगै बसेर छलफल गरेको हो । बजेट अधिवेशनको दिन उहाँहरू किन बस्नुभएन उहाँहरूलाई सोध्नुपर्छ । 

मलाई ठिकै, हाम्रो नगरपालिकामा जे बजेट तयारी भएको थियो त्यसमा सन्तुष्ट भएर नै भाग लिएको हो । उहाँहरूलाई किन असन्तुष्टि भएको हो उहाँहरूसँगै बुझ्नुस् न । 

उहाँहरूले ढोकामै उपस्थिति पुस्तिकामै निर्णय गराउन खोजियो भनेर बताइरहनुभएको छ नि ? 

त्यो चाहिँ प्रदेश राजपत्रले (प्रदेशले स्थानीय तहका लागि बनाएको कानुन) लाई नगरपालिकाले लागू गराएको हो । जस्तो खुला सत्रमा हामी सबै जना भित्र छिर्न पायौँ, छलफल भयो । बन्द सत्रमा तोकिएको कर्मचारीहरू बाहेक भित्र बस्न नहुने, जनप्रतिनिधिहरूले भित्र जानु अगाडि नै गेटमा दस्तखत गर्नुपर्ने, नगरपालिकाले तयार पारेको बजेट पुस्तिकाहरू लिने यी आदी नै गरेर भित्र छिर्नुपर्ने भन्ने जुन व्यवस्था छ त्यही टेकेर बनाएको हो । त्यहाँ हाजिर गरेर भित्र पसेर आफ्नो कुनै कुरा छ भने भित्रै बसेर गर्न सकिने थियो, उहाँहरूले अवरोध गरे पनि भित्रै बसेर गर्न सक्नुहुन्थ्यो । भाग लिए पनि नलिए पनि भित्रै बसेर गर्न पाउँथ्यो । उहाँहरू भित्र किन छिर्नुभएन, त्यो मलाई थाहा भएन । 

उहाँहरूले भित्र छिर्नै दिइएन भनेर पनि आरोप लगाउनुभएको छ नि   

हैन हैन, त्यसो हैन, उहाँहरूलाई भित्र छिर्न नदिइएको होइन, हाजिर गर्न दिइएको हो । नगरपालिकाको कुनै बजेट पुस्तिकाहरू, ब्याग वितरण थियो, सबै हामीले गेटबाटै बुझेर हाजिर गरेर छिरेको हो । उहाँहरूलाई पनि हाजिर गरेर छिर्नुस्, तपाईँहरूको कुरा छन् भने भित्रै राख्नुस् भनेर उहाँहरूलाई त्यही कुरा भनेको, हामीलाई पनि त्यही कुरा लागू भएको हो । उहाँहरूलाई पनि त्यही कुरा लागू गराउन खोज्दा हामी बाहिर हाजिर गर्दिन भनेर भित्र नछिरेको जस्तो लाग्छ मलाई । 

किन उहाँहरूले यस्तो गर्नुभएको हो ?  पहिले केही कुरामा असन्तुष्टि व्यक्त गर्नुभएको थियो कि ? 

मैले बुझेको हाम्रो वडा नम्बर ४ को अध्यक्षज्यूले वडा नम्बर ३ र ४ मा सङ्घ र प्रदेशबाट कम बजेट परेको छ, अरू वडालाई भन्दा हामीलाई १ करोड बढी बजेट चाहिन्छ भन्ने माग भएको थियो पहिला । त्यो पनि भयो अर्को हालसम्मको हिसाब किताब भुक्तानी लिनुपर्ने कति दिनुपर्ने कति भन्ने कुरा भयो । हाम्रो लेखा अधिकृतज्यूको आमा बित्नुभएको हुनाले त्यसबारे विवरण उपलब्ध गराउन सकिएन । बाँकी भुक्तानी लिनुपर्ने कति, त्यसमा कति घाटा हुन्छ, यसपालि कति तिर्नुपर्छ ? त्यो खोज्नुभयो । त्यो खोज्दा प्रशासनले असार १ गते भन्दा अगाडिको यति छ भनेर ल्याइदिनुभयो । प्रशासन शाखाले उपलब्ध गराएको त्यसमा चित्त नबुझेर यो भएन भनेर उहाँहरूको दुई चार वटा कुराहरू थपेर त्यसमा असन्तुष्ट हुनुभयो । भित्रै बसेर पनि छलफल गर्न त सकिन्थ्यो त । उहाँहरू के के मा असन्तुष्ट भो, घाटा भनेर निहुँ खोजेर मात्र पनि हामीले उपलब्ध गराउन सक्ने पनि होइन । हामीले झगडा गरे पनि भोली मेयरसावले आफ्नो विवेक प्रयोग गरेर बजेट पास गर्नुहुन्छ । हामीले सहयोग गर्‍यो भने झनै राम्रो, अवरोधनै गर्‍यो भने पनि उहाँले आफ्नो विवेक प्रयोग, कानुनले दिएको अधिकार प्रयोग गरेर पनि बजेट पास गर्न सक्छ त । 

त्यही भएको हो, वडा नम्बर ४ को अध्यक्षज्यूको यसमा असन्तुष्ट राखेको थियो त्यसलाई अलिकति पार्टीगत रूपमा पनि जोडियो भन्ने कुरा भएको छ । मैले चाहिँ म यो कुरामा धेरै निहुँ खोज्दिन भनेर वडा नम्बर २ र मैले चाहिँ समर्थन जनाएको हो । निहु खोजेर पनि पाउँने कुरा होइन हेर्नुस्, निहुर खोजेर झगडा राखेर पनि हामीले बढी पाउने होइन । त्यही भएर म चाहिँ उतातिर जान चाहिन। उहाँहरू जानुभयो । भएको त्यै हो । 

यसमा तपाईँहरूको नगर पार्टीको निर्देशन थियो कि ? बैठकमा सहभागी नहुनु भन्ने तपाईलाई थियो कि ? नगर पार्टीले नगर सभामा कस्तो भूमिका खेलेको थियो ? 

म चाहिँ पार्टीको बैठकमा गएन, नगएको कुरा । मलाई बोलाइरहेको थियो, नचाहिने निर्देशन म खाँदा पनि खाँदैन म जाँदैन भनेर भाग लिइन । पार्टीको बैठकमा पनि भाग लिइन । उहाँहरूले दिएको निर्देशन चाहिँ मैले पालना नगरेको हो । सुरुदेखि हाम्रो पार्टी सङ्गठनले बजेटको बारेमा केन्द्रदेखि प्रदेशसम्म उहाँहरूले भूमिका खेलिदिएको भए मैले सबै कुरा मान्नुपर्छ पार्टीको । प्रदेश र सङ्घको बजेट माग्न जान उहाँहरू हात बाँधेर बस्नुहुने । हामी चार–चार जना वडाध्यक्ष अनि एक जना उपप्रमुखको विकास बजेटका लागि उहाँहरू नतातिने । अहिले आएर नगरपालिकाको बजेटमा अड्को थाप्न खोज्छ भने उहाँलाई किन समर्थन गर्ने मैले ? भएको मेरो त्यही हो । 

उहाँहरूको केही निर्देशन चाहिँ थियो ? 

३–४ गतेबाट उहाँहरू बैठक बस्न थालेको, निर्वाचित जनप्रतिनिधिहरूलाई पनि सँगै राखेर छलफल गर्न खोजेको हो क्यारे म चाहिँ गएन । 

पार्टीले दिएको निर्देशन मान्नुभएनछ, तपाईँलाई अब पार्टीले कारबाही गर्ला नि ?

मैले भनिहाले नि । मलाई चाहिँदा खेरी पार्टीले सहयोग गर्नुप¥यो त मैले मान्नका लागि । म निर्वाचित भएको तेश्रो कार्यकाल हुँदै छ, अहिलेसम्म उहाँहरू क्षेत्रीय समिति र नगर समितिले हामी निर्वाचित जनप्रतिनिधिलाई कुन चाहिँ निकायमा गएर हाम्रो लागि कति बजेट ल्याउन सहयोग गर्नुभयो ? बजेट ल्याउनु नभए पनि पहल कहाँ गर्नुभयो ? हुनुप¥यो नि । उहाँहरू नेतृत्व भइसकेपछि बजेटका लागि कहाँ पहल गरिदिने, के गरिदिने, कसलाई भनेर हुन्छ, त्यो त हुनुप¥यो नि । उहाँहरू त्यतातिर नलाग्ने, अनि अहिले नगरपालिकाको एउटा साना बजेटमा अड्को थापेर यो हुनुपर्ने थियो भनेर पार्टीको भाग खोजेको हो ? यस कारणले मैले नमानेको हो । 

वडा नम्बर २ र ८ मा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टीले भनेको नमानेको भनेर कारबाही गर्छु भन्नुभएको छ ? 

हैन, मैले भनेको छु, सक्छौ भने मेरो वडाध्यक्ष पद नै खानु । मलाई कुनै आपत्ति छैन । हैन भने, मैले मेरो जनताका लागि, मेरो वडाका लागि मैले सकेको काम गरिरहेको छु । मैले आफ्नो क्षमता, विवेक प्रयोग गरेर, मैले कसलाई भनेर, कसलाई भनेर, कहाँ कहाँ गएर मैले मेरो वडाको विकासका लागि खटेको छु । मैले गरेको छु । म गर्छु पनि । मैले गरिरहेको पनि छु । सोध्नु हुन्छ, अहिले मेरो वडामा आठ–दश करोड बजेट मेरो वडामा ल्याउन सफल भएको छु । मैले वहाँहरूको उसमा लिएको होइन, मैले आफ्नो क्षमता प्रयोग गरेर, आफ्नो विवेक प्रयोग गरेर ल्याएको हो । मैले आठ १० करोडको बजेट ल्याउँदा उहाँहरू कहाँ निदाएर बसेको थिए । कहाँ सुतेर बसेका थिए । मलाई त्यसको उत्तर दिनुस् न उहाँहरूले ? उहाँहरूलाई त्यही सोध्नुस् । अहिले ४ वडा जितेका छौँ, कुन चाहिँ वडाका लागि भनेर वहाँहरू हिँड्नुभएको छ ? को हिँडेको छ ? नगर सभापति हिँड्या छ ? क्षेत्रीय सभापति हिँड्या छ ? वहाँहरू चाहिँ नहिँड्ने ? वहाँहरूको निर्देशन मैले मान्नुपर्ने ? 

अहिले नगर सभामा जोडिएको प्रकरण राजनीतिक कारण मात्र हो ?  

मैले सिधै भन्नुपर्दा खेरी हामी जनप्रतिनिधिहरूको पनि कमीकमजोरी छैन । पार्टीको नेतृत्वले, वहाँहरूले नभएको कुरालाई निकालेर इश्यु बनाएको हो । बजेट पनि पार्टीमा भाग खोजेको हो कि जस्तो छ मैले बुझेको चाहिँ । कुन चाहिँ नीतिले त्यस्तो गर्न दिन्छ त्यो चाहिँ थाहा भएन । पाउँछ भने लिँदा हुन्छ आपत्ति भएन । हैन भने हामी जनप्रतिनिधिहरू, मेयर, उपमेयरदेखि हामी सबै जना यो बजेट तयार गर्न १ हप्तादेखि हामी सबै जना बसेर छलफल गरेको हो । कसैको विमतीपनि छैन । सुरुदेखि पछिसम्म बजेट बनाउने क्रममा कसैको पनि विमति छैन । अन्तिम समयमा आएर हाम्रो ४ नम्बरको वडाध्यक्षज्यूले भन्नुभएको थियो । उहाँको कुरा पनि त्यति नराम्रो त होइन । बजेट अधिवेशन भन्दा अगाडी हाम्रो उपमेयरले समन्वय गर्नुपर्ने हो । ९ र ४ को वडाध्यक्ष असन्तुष्ट भएकोमा उहाँले समन्वयात्मक भूमिका खेलेर, भोली बजेट अधिवेशनमा असन्तुष्टि नआओस् भनेर भूमिका खेल्नुपर्ने । यतातिर नलागीकन वहाँ पनि पार्टीको कुरा सुनेर जानुभयो, जहाँ उपमेयरले भूमिका खेल्नुपर्ने हो, त्यहाँ नखेलेकै पाउँछु मैले । वडाध्यक्ष असन्तुष्ट भएपछि निकास खोल्ने त उहाँले हो त । 

प्रतिक्रिया

One thought on “वडा नं. ८ का अध्यक्ष पोते थिङ भन्नुहुन्छ : ‘शंखरापुरको नगर सभा वैधानिक ढङ्गले सम्पन्न भएको हो’”

Leave a Reply

Your email address will not be published. Required fields are marked *