२०८१ जेठ १४
काठमाडौं ।
शंखरापुर नगरपालिकाको आयोजनामा वडा नम्बर ८ भुल्भुमा एकीकृत घुम्ती सेवा कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरप्रमुख रमेश नापितको नेतृत्वमा नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, शंखरापुर नगर अस्पतालका स्वास्थ्यकर्मीहरु सहितको टोली विभिन्न सेवा लिएर भुल्भुमा पुगेका थिए ।
सो अवसरमा विभिन्न स्वास्थ्य जाँच, निःशूल्क औषधी वितरणदेखि, तरकारीका विउबिजन वितरण, विभिन्न बालीको परिक्षण लगायतका विभिन्न सेवाहरु उपलब्ध गराइएको थियो ।
सो अवसरमा कूल २४३ जना सेवाग्राहीले विभिन्न प्रकारका सेवा लिएका थिए । २ सय ७ जनाले कृषि सम्बन्धी विभिन्न सेवा लिएका थिए भने १ सय ४६ जनाले पशु सेवा लिए । ९० जनाको आँखा जाँच गरिएको थियो भने ३९ जना महिला र २२ जना पुरुषले इसिजी सेवा लिएका थिए । सो अवसरमा १६ जनाले राष्ट्रिय परिचयपत्रको फर्म भरेका छन्, ६ जनाले जेष्ठ नागरिक परिचयपत्र लिए । यस्तै ९ जनाले स्वास्थ्य बिमा गरे भने ३ जनाले राजस्व सम्बन्धी सेवा लिएका थिए ।

एकीकृत घुम्ति सेवामा स्थानीयवासीलाई स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो । यस्तै प्राविधिकद्धारा विभिन्न बालीमा लागेको रोगको पहिचान गरी स्थलगत रुपमा त्यसको निदानका लागि औषधी वितरण गरिएको थियो । पशुपालक किसानहरुका लागि पशुमा देखिएका विभिन्न स्वास्थ्य समस्या समाधानका लागि निःशूल्क भेटेनरी औषधीहरुपनि वितरण गरिएको थियो ।
सो एकीकृत घुम्ति सेवाको नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले अनुगमन तथा निरिक्षण गर्नुभएको थियो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्जला अधिकारी चुडाल, वरिष्ठ शाखा अधिकृत सुभद्रा पुडासैनी, प्रमुख लेखा अधिकृत गोविन्द अधिकारी, कृषि शाखा प्रमुख सीतादेवी गुरागाँई, स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चापागाई, कृषि अधिकृत अर्जुन चौलागाँई, नगर प्रहरी बल प्रमुख आङकाजी शेर्पा लगायतका कर्मचारीहरुले स्थलगत रुपमा सेवा प्रवाह गर्नुभएको थियो ।

सो अवसरमा नगरप्रमुख रमेश नापितले नगरपालिकाको कार्यालयबाट अलि टाढा रहेका सेवाग्राही, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका जनतालाई सहज रुपले विभिन्न प्रकारका सेवा दिनका लागि एकीकृत घुम्ति सेवा प्रदान गरेको जानकारी दिनुभयो । जनताले स्थलगत रुपमा स्वास्थ्य मात्र नभई अन्य सेवाहरुपनि माग गरेकोले उनीहरुको सुविधाका लागि यो कार्यक्रम गरिएको बताउनुभयो ।
यस्तै उपप्रमुख समिता श्रेष्ठले एकीकृत घुम्ति सेवा लिन आउनुभएका स्थानीय खुसी भएको र यस्ता कार्यक्रमहरु तीन तीन महिनामा राख्नका लागि सुझाव दिएको र घरदैलोमै विभिन्न सेवा दिएकोमा खुसी व्यक्त गरेको जानकारी दिनुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था अनुसार आफ्ना नागरिकलाई सहज ढंगले सेवा दिनका लागि कार्यालयबाट टाढा रहेका बस्तिहरुमा एकीकृत घुम्ति सेवा राख्न सक्ने प्रावधान अनुसार कार्यक्रम गरिएको बताउनुभयो । यो आर्थिक वर्षमा नगरपालिकाका ३ स्थानमा घुम्ति सेवामार्फत नगरपालिकाले दिने स्वास्थ्य, कृषि लगायत विभिन्न सेवाहरु प्रदान गरेको जानकारी दिनुभयो ।
नगरपालिकाले बुधबार वडा नम्बर ४ मा रहेको भुवनेश्वरी आधारभूत विद्यालयमा घुम्ति सेवा मार्फत स्थलगत रुपमा सेवा दिने कार्यक्रम राखिएको छ ।


प्रतिक्रिया