साँखुमा ३३ सय बर्ष पुरानो बज्रयोगिनी माई जात्रा सुरु हुँदै

Gantabya News

११ बैशाख २०८१, मंगलवार

काठमाडौंको शंखरापुर नगरपालिका स्थित ऐतिहासिक सहर साँखुमा आजदेखि ९ दिनसम्म बज्रयोगिनी जात्रा सुरु हुँदैछ । साँखु नगरको उत्तर दिशामा रहेको मणिच्यूड पर्वतको मन्दिरबाट बज्रयोगिनीको मूर्ति नगर प्रवेश गराईदैछ । यसबर्ष साँखुको धुँल्ला टोलमा बज्रयोगिनीलाई राखिँदैछ ।

जात्रामा बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित मन्दिरबाट २ किलोमिटर तल साँखुमा नगर प्रवेश गराइँदैछ । बज्रयोगिनी जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष जनता श्रेष्ठले जात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । बज्रयोगिनी माईलाई राख्ने सक्तल रंगरोगन र सरसफाई सकिएको, सुरक्षाका लागि स्थानीय प्रशासन, प्रहरी प्रभाग साँखु लगायतका निकायसँग बैठक गरेर तयारी गरेको, विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरेको, जात्राका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गरेको जानकारी दिए ।

जात्राका लागि चैतेदसैंमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरबासीको तर्फबाट दाम र सुपारी स्वयम्भू चैत्य र मूल बज्रयोगिनी देवीलाई चढाएर निमन्त्रणा गर्ने परम्परा छ । त्यही दिनदेखि औपचारिक रूपमा जात्रा सुरु भएको मानिन्छ । चैतेदसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखिं बाजा बजाएर नगर परिक्रममा गरि झ्याली पिट्ने गरिन्छ । करिब ३३ सय वर्ष अगाडि साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँमा सुखशान्ति मिलोस, कल्याण होस र खेतीपाती राम्रो होस भन्ने कामनाका साथ सो जात्रा चलाएका थिए भन्ने किम्बदन्ती रहेको छ ।

गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई हरेक चैत शुक्ल पूर्णिमामा मन्दिरबाट भब्य जात्रा गदैै साँखु नगरमा ल्याउँने परम्परा रहेको छ । नेपालकी शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति साँखु बजारमा ल्याएर जात्रा चलाइने गरेको हो । नेपालको उत्पत्तिसँग सम्बन्धित भएको बज्रयोगिनी देवीको जात्रामा यस भेगका अधिकांश समुदायको उपस्थिति रहन्छ । बज्रयोगिनी माई जात्राको सुरुकै दिन बालाजु बाइसधारामा मेला लाग्ने परम्परा रहेको छ ।

जात्रा अवधीभर साँखु नगरका गागलफेदी, पालुवाबारी, लप्सेफेदी, इन्द्रायणी, चाँगु, र घुमारचोक गरी सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको छ । जात्राको ४ दिन पछि मूजात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन । जात्रामा बज्रयोगिनीको मूर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी र अमोघसिद्धिको मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने परम्परा रहेको छ ।

यो दिन साँखुबासीहरुले आफ्ना आफन्तहरु बोलाएर भोज खुवाउने चलन छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाद्यः, सिंहिणी, ब्याघ्रिनी जात्रा प्रत्येक वर्ष मनाउने भएपनि साँखु बजारका आठ टोलहरुमध्ये चार टोलमा मात्रै माई राख्ने सत्तलको व्यवस्था गरिएको र पालैपालो ती चारवटै टोलहरुमा माई विराजमान गराइने प्रचलन रहेको छ । जात्रा अघि बज्रयोगिनी मन्दिर जाने बाटो मर्मत, सरसफाई लगायतको कार्य गरिएको थियो । यो वर्ष बैशाख १४ गते बज्रयोगिनीलाई साँखु बजार परिक्रमा गराउँदै मूल जात्राको रुपमा मनाइँदैछ । बैशाख १८ गते बज्रयोगिनीलाई रथमा राख्ने र १९ गते मन्दिरमा फर्काइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *