कविता : पशुहरुको कथा

Gantabya News

१० आश्विन २०८०, बुधबार

  १० असोज २०८०, बुधवार

-कवि : अप्सरा भुर्तेल 

पाखा–पखेरामा उफ्रिँदै जिस्किँदै
आफूजस्तै साना साथीहरुसँग खेल्दै 
हरिया पाखाहरुमा मडारिँदै रमाउँदै 
हुर्कदै थिँए बिस्तारै 
एक्कासी गाउँको खोरबाट 
गाडीमा कोच्दै–घिच्याउँदै ल्याए बजार 
बजारबाट फेरी घिच्याँउदै–सुम्सुम्याउँदै 
ल्याँउदा अर्कै घर 
सोचेँ 
अहो कति माया गर्ने परिवार 
अब त म स्वतन्त्र हुन्छु होला

दाम्लोमा तानिँदै 
जब आइपुगेँछु नयाँ घर 
मेरा आँखा वरीपरी नाँचे 
रमाएर खुसी भएर नयाँ मान्छेहरु 
सोचेँ 
मेरो आगमनमा पनि यति धेरै खुसी ? 

त्यो रात म
आमा, मेरा साना खेल्ने साथीहरुको यादमा 
धेरै कराइरहेँ
धेरै रोइरहेँ 
मैले सम्झिँरहे मैले चर्ने चौर 
खेत बारी र घरका आँगन पिँडीहरु 

भोलीपल्ट 
मेरो वरिपरि झुमिए धेरै मान्छेहरु  
उनीहरुको मुहारमा 
उसरी नै चम्किरहेको छ खुसी 
फरक यति छ
हिजो भन्दा आज 
भरिएको छ आँगनमा चहलपहलले  
आगो बालिएको छ, 
उमालीदैछ ठूलो भाँडोमा पानी 
मेरो आँखा अगाडि नै 
राखिएको छ टल्किने तरबार 

म झस्केँ
मेरो बोलीको पो बुझाई छैन 
तर म मा चेतना त छ नि
कतै यहिँ मेरो अन्त्य त हुँदै छैन ?

त्यहि भयो जे सोचेँ
हेर्दा-हेर्दै, सोच्दा–सोच्दै 
घिसारियो मलाई बाँधिएको ठाउँबाट
केबल म नबुझ्ने भाषामा म
चिच्याईरहे
बगाईरहेँ आँखाभरि 
जीवन बचाउको अश्रुधारा 
कता बिलायो कता 
आकाशमा मेरा करुणाका आवाजहरु 
भिज्यो धर्ती आँशुहरुले 
र गरियो अन्त्य मेरो जीवनको  
धारिलो तरबारले

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *