पार्टीभित्रको उतारचढावलाई मतदाताले मन पराएनन् – विवेकशील साझा

Gantabya News

२ जेष्ठ २०७९, सोमबार

विवेकशील साझा पार्टीले अपेक्षाकृत नजिता ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै ‘आशा गरिएको पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको’ स्वीकार्दै क्षमा मागेका छन् ।

‘हामीले देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो ।’

कतिपयले पार्टीको कमजोर नतिजा आउनुमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ शीर्षकको राजनीतिक दस्तावेज रहेको भूमिका रहेको विश्लेषण गरे पनि त्यसो नभएको भन्दै पाठकले खण्डन गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले मात्र होइन, सो दस्तावेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नुपरेको थियो, जुन सोचनीय विषय छ।’

वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद पनि आफूहरुले इमान्दारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै नगुमाएको पनि भनिएको छ । साथै, विगतका सिकाइबाट अब निर्मम समीक्षा र निर्णय गर्दै जाने पनि भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *