फोहोर मैला व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिकासँग नेपालमै पहिलो अत्याधुनिक मेसिन

Gantabya News

२५ बैशाख २०७९, आईतवार

नेपालमै पहिलो पटक गोकर्णेश्वर नगरपालिकाले फोहोर मैला व्यवस्थापनका लागि अत्याधुनिक मेसिन स्थापना गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उत्तरतर्फको जस्तापाताले बारेको टहरामा फोहोर मैला नष्ट गर्ने मेसिन राखिएको छ । २३ आना जग्गामा यो फोहोर मैला नष्ट गर्ने मेसिन स्थापना गरिएको छ ।
जसका कारण अब यस नगरपालिकामा उत्पन्न भएका फोहोर मैला ल्याण्डफिल्ड साइटमा लानुपर्ने छैन् । बैज्ञानिक र व्यवस्थित तरिकाबाट यसको व्यवस्थापन हुने भएको हो ।
गोकर्णेश्वर नगरप्रमुख सन्तोष चालिसेको सक्रियतामा जापानबाट ल्याएको अत्याधुनिक प्रविधि जडान भएको मेसिनबाट फोहोर जलाएर नष्ट गर्ने प्रक्रिया शुरु भएको छ । आर्यघाटमा रहेको शवदाह मेसिनजस्तै रहेको यो मेसिनमा आगोको रापमा फोहोर नष्ट गरिन्छ । तर त्यहाँबाट धुवा तथा दुर्गन्ध नआउने प्रविधि रहेको छ । यो मेसिन जापानबाट ४ करोडमा खरिद गरिएको हो । जग्गा सहित मेसिन स्थापना गर्न १४ करोड हाराहारी लागत परेको छ ।
नगरप्रमुख चालिसेले भने–‘नेपालमै पहिलोपटक फोहोर व्यवस्थापन गर्ने मेसिन ल्याएर सञ्चालन सुरु गरेका छौँ । म आफै जापान गएर कसरी फोहोर व्यवस्थापन हुन्छ भन्ने कुराको अवलोकन गरेर यो मेसिन खरिद गरिएको हो । अब गोकर्णेश्वर नगरपालिकामा फोहोरको समस्या समाधान भएर जान्छ ।’ उनले आफूले जापानमा १५ दिन बसेर फोहोर मैला व्यवस्थापनको अवलोकन गरेको बताए ।


उनले फोहोर जलाउदा दुर्गन्ध तथा धुवाँ केही नआउने बताए । यो मेसिन स्थापनासँगै अब नगरपालिकामा सडकमा फोहोरको थुप्रो देख्न नपर्ने बताए ।
यो मेसिनबाट दैनिक ८ हजार किलोसम्म फोहोर जलाउन सकिन्छ । फोहोर जलाउनका लागि नगरपालिकाले प्रत्येक घरबाट कुहिने तथा नकुहिने फोहोर संकलन गर्दछ । यसरी संकलन गरेको फोहोरलाई १ हजार डिग्रीसम्मको आगोको रापमा हालेर जलाइन्छ ।
यसरी फोहोर जलाएर निस्किएको खरानीबाट पुन आगो बाल्ने ब्रिकेट बनाउन सकिन्छ । ब्रिकेट बनाउन मिल्ने प्रविधिपनि छिट्टै ल्याउने तयारी छ । यसरी फोहोर व्यवस्थापनका लागि प्रत्येक घरबाट ३ सय ५० रुपैयाँसम्म शूल्क राख्ने र त्यो रकमको १० प्रतिशत नगरपालिकाको खातामा जम्मा गर्ने योजना छ ।
यस्तो नयाँ प्रविधिको सुरुवात गरेपछि अन्य स्थानीय तहका जनप्रतिनि समेत अवलोकन तथा सल्लाह सुझावका लागि आउने गरेको मेयर चालिसेले बताए । बिस्तारै यो प्रविधि नेपालका शहरी क्षेत्रमा प्रभावकारी हुँदै जाने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *