कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनप्रति तीव्र असन्तुष्टि कायम रहे पनि पार्टी निर्णय मानेर जानु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवार बनेका पार्टीका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह पनि गरेका छन् ।
कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार गरेको कार्यक्रममा महामन्त्री थापाले भविष्यमा अन्यायका विरुद्ध एक–एक हिसाब गर्ने भन्दै बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । ‘चुनावअगाडि पार्टीमा मतभेद हुन्छन्, चुनावपछाडि फेरि ती विषय उठ्छन् । तर, चुनावमा होमिइसकेपछि पार्टी निर्णय सबैले मान्नुपर्छ, सम्मान गर्नुपर्छ । अहिले पार्टी निर्णयभन्दा बाहिर स्वतन्त्र उम्मेदवारी दिनु भएका तमाम साथीहरूलाई अनुरोध गर्न चाहन्छु–तपाईंहरूमाथि भएको अन्याय र विभेदको एउटा–एउटा हिसाबकिताब हुन्छ,’ थापाले भने, ‘म यो निर्वाचनबारे मात्रै चिन्ता गरेर भनिराखेको छैन, निर्वाचन परिणामलाई चिन्ता गरेर मात्रै भनिराखेको होइन । तपाईंहरूका जायज असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी लिएर आएको छु ।’
थापाले असन्तुष्टिको विषयमा चुनावपछि पनि पार्टीभित्र छलफल हुने बताए । ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन, ठूलो भिन्न मत पनि छ । यसबारे संघर्ष पनि भयो, संघर्ष छ र भोलि पनि रहन्छ । तर, राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । यसै गरेर पार्टी निर्णय गरेर अघि बढिरहेका हुन्छन्,’ थापाले भने, ‘हामी पार्टीलाई जिताउन चाहन्छौँ, पार्ट निर्णय कार्यान्वयन गराउन चाहन्छौँ । तर, चुनावपछाडि फेरि छलफल हुन्छ, बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा–एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ ।’

प्रतिक्रिया