आईपिओ जारी गर्दै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक

Gantabya News

१३ बैशाख २०७९, मंगलवार

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयका लागि १३ करोड ५० लाख बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यो आईपीओ छिटोमा जेठ ५ गतेसम्म विक्रीमा रहनेछ भने योे अवधिसम्म आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भइरहेको हो ।

हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो ।

पहिलो चरणमा स्थानीयमा आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीका कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत अर्थात १९ लाख ५७ हजार ५०० कित्ता शेयर विक्रीमा आउनेछ । सर्वसाधारणलाई समेत शेयर विक्री गरी बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड पुग्नेछ ।

यस कम्पनीको आर्थिक वर्ष ०७७/७७ सम्म सञ्चित नाफा ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ १०८ दशमलव २१ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *