काठमाडौंको गोर्कणेश्वर नगरपालिकामा ५ बर्षसम्म स्थानीय सरकार हाँकेका सन्तोष चालिसेले आफूले सो अवधीमा उत्कृष्ट काम गरेको बताउनुभएको छ । सडक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण लगायतका विभिन्न काम सम्पन्न भएको उहाँको भनाई छ । ५ बर्षको अवधीमा गोर्कणेश्वरमा भएका मुख्य मुख्य कामहरु उहाँकै शब्दमा :
सबैभन्दा मुख्य कुरा काम गर्ने पद्धति निर्माण गर्नुपर्दछ । एउटा सिंगो गाडी लिएर लामो यात्रामा हिँड्न लागेको छ भने त्यसका लागि के–के चाहिन्छ आवश्यक सामानहरु हुनुपर्यो । त्यसै ल्याङ्फ्याङ् हिँड्दा कहाँ दुर्घटनामा पर्छ, कहाँ के हुन्छ केही थाहा हुँदैन । गोकर्णेश्वर नगरपालिकाको एउटा कोठाबाट मैले काम सुरु गरेको थिए । म आउँदै गर्दा नगरपालिका एउटा कोठाबाट चलिरहेको थियो । अहिले हामीसँग आवश्यक सबै सामग्रीसहित ७ वटा शाखा छ । नौ वटै वडा कार्यालय बनिसके । २८ करोडमा केन्द्रीय कार्यालय बन्न लागेको छ । करोड माथिका ५ वटा खानेपानी आयोजना तयारी भइसकेको छ ।
डेढ करोड खर्च गरेर नगरपालिकाको डिजिटल डाटा सर्भे मैले नै गराएको हुँ । डाटा नै नभई के योजना बनाउने कसरी काम गर्ने ? नगरपालिकामा कतिवटा घर छ ? कति मान्छे छन् भन्ने नै थाहा छैन, कति रोजगार छन्, कति बेरोजगार छन्, कति जेष्ठ नागरिक छन्, कति बालबालिका छन् त्यो पनि थाहा छैन । यो थाहा नपाई कसरी काम गर्ने भन्ने अवस्था थियो । अहिले मसँग कसको घरमा कति बाख्रा छन्, कुन घरमा कतिजना छन् सबै डाटा छ । प्रत्येक घर घरमा नम्बर राखिएको छ । त्यो नम्बर कम्प्युटरमा राख्ने बित्तिकै सबै डाटाहरु एकैपटक आउँछ ।
अहिलेसम्म नेपालको अरु कुनै नगरपालिकामा नभएको अत्याधुनिक फोहोर जलाउने मेसिन पनि हामीसँग छ । वातावरण सफा राख्न जापानबाट दशौं करोड खर्च गरेर ल्याएर नगरपालिकामा स्थापना गरिसके । कृषकहरूका लागि परिचयपत्र बनाइदिएको छु ।
हिजोसम्म नगरपालिकाबाट कुन किसानले के सुविधा पायो पाएन केही हिसाब किताब थिएन । तपाईंले गाई बाख्रा, कुखुरा पाल्नुभएको छ भने कार्ड सिष्टमबाट सुविधा पाउनुहुन्छ । वर्षभरीमा कसले के सुविधा पायो, कसले के गर्यो हामीसँग सबै डाटा छ ।
गोकर्णेश्वर नगरपालिकामा बाटोघाटो बन्न केही पनि बाँकी छैन । जोरपाटी–सुन्दरीजल सडक पनि पिच गरेर सम्पन्न गरिसकेँ । बाटोमा बत्ति हाल्ने काम सम्पन्न भइसकेको छ । ठाउँ ठाउँमा सीसी क्यामेरा राख्ने काम सम्पन्न भएको छ । तीन चार करोडको बगैंचा पार्कहरु बन्दैछ । तारेभीरसम्म सडक पिच भइसक्यो । सुन्दरीजलबाट नुवाकोटको सिमानासम्म पुग्ने बाटो ढलान भइसकेको छ । मैले विकासको एउटा पद्धति स्थापित गरिसकेको छु ।
गोकर्णेश्वर मन्दिरमा १८ करोडको सुनको छाना हालेर त्यसलाई एउटा धामको रुपमा विकास गरिरहेका छौँ । धार्मिक पर्यटनको क्षेत्रमा यो नगरपालिकाले फड्को मारेको छ । केन्द्रबाट ७५३ वटा स्थानीय तहलाई नम्बरिङ गरे माथिबाट आउनुभएका साथीहरुले हामीलाई ८१ दशमलव ७ प्रतिशत नम्बर दिएर देशभरीका नगरपालिकामा हाम्रो स्थान माथि रहेको छ ।
हिजो विषम परिस्थितिमा पनि मैले भारी मत ल्याएर जितेको थिँए । अहिले यहाँका सबै जनता खुसी छन् । कसैले एउटा औँला नउठाइकन मैले ५ वर्ष बिताएँ । म कहाँ कुनै विरोधको एउटा निवेदन परेको छैन् । सबै पार्टीको सर्व सहमतिले ८ वटा नगर परिषदको बैठक सकेको छु । अहिलेसम्म मैले गरेका काममा कुनै विरोध आएको छैन ।

प्रतिक्रिया