अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यहार महासन्धि १९० अनुमोदन गर्न सरोकारवालाको जोड

Gantabya News

५ पुष २०७८, सोमबार

पूर्णप्रसाद मिश्र/रासस

श्रमिकमाथि कार्यस्थलमा हुने हिंसा र दुर्व्यहार अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुव्र्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीले जोड दिएका छन् ।
महिला, कानून र विकास मञ्चले सोमबार काठमाडौंमा गरेको ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुव्र्यवहार महासन्धि १९० अनुमोदनको आवश्यकता’ विषयक छलफल कार्यक्रमका वक्ताले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकमाथि हुने हिंसा र दुव्र्यवहार अन्त्य गर्न सहयोग पुग्ने जानकारी गराइएको छ ।
सङ्गठनको सन् २०१९ जुन २१ को सम्मेलनले महासन्धि पारित गरेको हो ।
महासन्धि अनुमोदनपछि शारीरिक, मनोवैज्ञानिक, यौनिक, आर्थिक हिंसा र दुव्र्यवहार पनि अन्त्य गर्न सहयोग पुग्ने छ । घरेलु हिंसा र उत्पादकत्वले पनि काम गर्ने क्षमतामा प्रभाव पार्ने भएकाले नेपालले तत्काल महासन्धि अनुमोदन गर्नुपर्ने श्रमिकको माग छ ।
महासन्धिले कार्यालय, सार्वजनिक स्थल, घर, प्रशिक्षणमा रहेका कामदार र कामको खोजीमा लागेकालाई समेत समेट्ने प्रावधान छ ।
श्रमिकको समग्र मानव अधिकारको संरक्षणका लागि पनि महासन्धि अनुमोदन संरक्षण गर्नुपर्नेमा नेपालका श्रम सङ्घ, सङ्गठनले पनि माग गर्र्दै आएका छन् । महासन्धि अनुमोदनकै लागि श्रम क्षेत्रसँग सम्बन्धित सरोकार भएका निकायले राष्ट्रिय गठबन्धनको समेत निर्माण गरेर काम अघि बढाइएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिनुभयो ।
यो महासन्धि हालसम्म विश्वका १० देशले मात्र अनुमोदन गरेका छन् । नेपालले विश्वकै २० देशमा पर्ने गरी महासन्धि अनुमोदनका लागि प्रक्रिया शुरु गर्नुपर्नेमा सरोकार भएका निकायका अधिकारीको जोड छ । अनुमोदनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्भाव्यता अध्ययन गर्नुपर्ने उहाँले सुनाउनुभयो ।
सङ्गठनको नेपाल प्रतिनिधि कृपा बस्नेतले १० वटा देशले अनुमोदन गरिसकेको महासन्धि थप १० देशले अनुमोदनका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । दक्षिण एसियाली देशमध्ये पाकिस्तानले महासन्धि अनुमोदनका लागि संसद्मा पेश गरिसकेको छ । महासन्धि अनुमोदन गर्ने दक्षिण अफ्रिका पछिल्लो देश हो ।
कुनै पनि देशले महासन्धि अनुमोदन गरेर सङ्गठनको महानिर्देशककोमा सङ्ग्रह गर्न सूचिकृत गरेको १२ महिनापछिदेखिमात्र लागू हुने प्रावधान पनि महासन्धिमा राखिएको छ । यसैले नेपालले संसद्को चालु अधिवेशनबाट नै महासन्धि अनुमोदन गरेर पठाएपनि तयारीका लागि अझै एक वर्ष समय पाइने भएकाले कार्यान्वयनमा समस्या नहुने यस क्षेत्रका सरोकार भएकाको भनाई रहेको अधिवक्ता रोशना प्रधानले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *