नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियानको शुभारम्भ

Gantabya News

२६ मंसिर २०७८, आईतवार

नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो अभियानको शुभारम्भ गरेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ ।

अभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियन्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने लगायत कार्यक्रम अभियानमा रहेको बताए ।

अभियानका कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने बताएका उनले ३ महिनामा वक्तव्य मार्फत् कार्य प्रगति पनि सार्वजनिक गरिने सुनाए । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाई रहेको थियो ।

कार्यक्रममा वरिष्ठ निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् ।

त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरिन् । परिवर्तन नेपालको संस्थापक अध्यक्ष समेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत वाचा गरेकी छन् ।

‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका छन् ।

कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल लगायतले अभियानको महत्व र चुनौतीका बिषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *