हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापना गर्न राप्रपा केन्द्रीय सदस्यमा कुन्तीदेवी पोख्रेलको उम्मेदवारी

Gantabya News

१७ मंसिर २०७८, शुक्रबार

बहुदलिय प्रजातन्त्रको पुनस्थापना पछि २०४७ सालमा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले अनेकौ आरोह अवरोह पार गर्दै तीन दशकको यात्रा पुरा गरेको छ । यस अवसरमा पार्टीले नेपाली जनतामाझ केही सकारात्मक सन्देशहरु प्रवाह गरिसकेको छ । हिन्दुराष्ट्र, राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली पार्टीका मुख्य एजेण्डाहरु हुन् । यिनै एजेण्डाको जगमा उभिएर हामीले परापूर्वकालदेखि नै नेपाली जनतालाई परिचालन गरिरहेका छौं ।

देश पछिल्लो समय असक्षम नेतृत्वको कब्जामा छ । जसका कारण दिनदिनै भ्रष्टाचार, विकृति, विसंगतिहरुको बोलवाला छ । यसले देशको शासन प्रणाली कमजोर बनाउने त भयो नै त्यसमा पनि नेतृत्वसँग केही आशा बोकेका नेपाली जनताको सपना चकनाचुर भएको छ । यसबाट जनता आजित भएका छन् । जनतामाझ हामीले कसरी आशाका स्वरहरु लिएर जाने मुख्य चुनौती छ । यो चुनौतीको डटेर सामना गर्नका लागि हामी युवाहरु नेतृत्व तहमा आउनुको विकल्प छैन । हामीले जसरी भएपनि आफ्नो नेतृत्वको हकदाबी गर्नुपर्छ । अग्रजहरुको सल्लाह सुझाव र हाम्रो विवेकले हामी नेतृत्वमा आउनुपर्छ भन्ने मेरो मान्यता हो ।

यसैका लागि मैले चालु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएकी छु । हाम्रो देशमा राजनीतिका मुख्य केन्द्रहरु बुढापाका नेताहरुको कब्जामा छन् । युवाहरु खाली स्वयंसेवक र उनीहरुको आवाज बोल्ने थोत्रा माइक भएका छन् । उनीहरुलाई माथि उठाउने मेरो यो सानो प्रयास हो । यस्तो परिस्थितिमा पनि मैले नेतृत्वका लागि उम्मेदवारी दिनुपर्छ र मजस्ता युवाहरुलाई केही सचेत गराउनुपर्छ । त्यसकारण मैले नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिन कुनै कसर बाँकी राखिन । मेरो उम्मेदवारी युवा आवाजलाई प्रवद्र्धन गर्ने, वृद्ध आवाजहरुको अवमूल्यन गर्ने भन्ने कदापि होइन ।

म जति युवाहरुको आवाजका लागि लड्नेछु त्यति नै वृद्ध आवाजहरुका लागि लड्नेछु । यो मेरो प्रतिबद्धता हो । नेतृत्व कस्तो हुनुपर्छ जनता कस्तो हुनुपर्छ भन्ने प्रश्न यतिबेला आम रुपमा खड्किरहेको छ । नेताले समाज बनाउँछ या समाजले नेता बनाउँछ भन्ने प्रश्न पनि चर्को रुपमा उभिएको छ । यस्तो अवस्थामा हामीले जिम्मेवार हुँदै जनतालाई सचेत गराउने र जनताअनुरुप नै अघि बढ्ने प्रण गर्नुपर्दछ । जनताको नेतृत्व त गर्ने तर कुन उद्देश्य र कुन एजेण्डाका लागि गर्ने भन्ने कुरा महत्वपूर्ण हो ।

मेरो उम्मेदवारी किन ?
१. युवा वृद्धको एकै स्वरका लागि,
२. हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापना गर्न,
३. भ्रष्ट राजनीतिक नेता, कर्मचारी र व्यापारीहरुको त्रिकोणात्मक गठवन्धन अन्त्य गर्न,
४. युवा पलायन रोक्ने र रोजगारीलाई प्राथमिकता दिन,
५. राजनीतिक पात्र मात्र होइन समग्र प्रणालीमा नै सुधार गर्न,
६. सनातन धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरुको संरक्षण र संवद्र्धन गर्न,
७. सबै जाति, वर्ग र समुदायबीच समान व्यवहार ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *