शंखरापुरमा राप्रपाबाट मेयर जिते बृद्धभत्ता ५ सय बढाउँछु, समग्र विकासलाई अघि बढाउँछु : रमेश नापित

Gantabya News

५ बैशाख २०७९, सोमबार

यही बैशाख ३० गते स्थानीय तह चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरका लागि रमेश नापितलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट सर्वसम्मत उम्मेदवार भएका नापित राप्रपाका केन्द्रीय पार्षद समेत रहेका छन् । २०७४ सालको प्रदेश सभा चुनावमा पनि उनले काठमाडौं क्षेत्र नंबर २ को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । २०४७ सालदेखि राजनीतिमा सक्रिय रहेका र हाल मेयरका उम्मेदवार रहेका नापितसँग गोर्खाप्रेस डटकमले गरेको यो अन्तरवार्ता :

शंखरापुर नगरपालिकामा राप्रपाबाट नगरप्रमुखका लागि तपाईको उम्मेदवारी किन ?

उम्मेदवारी दिनुको पहिलो कारण त शंखरापुर नगरपालिकालाई समृद्ध, विकाशित र हरेक कुरामा सफल नगरपालिका बनाउनु हो । अर्को विगतमा चुनाव जित्ने दलहरुले जुन प्रतिबद्धता ब्यक्त गरेका थिए, उनीहरुले त्यसलाई पूरा नगरेका कारण हामी अघि सरेका हौँ । जनताले राखेका आकांक्षा पूरा गर्ने मेरो प्रतिबद्धता रहेको छ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, संस्कृति परम्परा संरक्षण लगायतका क्षेत्रमा मैले विभिन्न एजेण्डाहरु अगाडि सारेको छु । बाटोघाटो निर्माणदेखि जिर्ण रुपमा रहेका र मर्मत भइरहेका पाटी पौवाहरुको निर्माणलाई पूरा गर्ने मेरो उदेश्य रहेको छ । जुन ठाउँमा कम विकास भएको छ त्यो क्षेत्रलाई बढी प्राथमिकता दिने मेरो लक्ष्य हो । साथै म शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित भएमा जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको भक्तामा थप ५ सय थपेर दिने योजना समेत बनाएको छु ।

चुनावी तयारी कसरी गर्दै हुनुहुन्छ ?

अहिले चुनावी तयारी तीब्र रुपमा भइरहेको छ । शंखरापुर नगरपालिकाका हरेक गाउँ, टोलमा जाने काम भइरहेको छ । उनीहरुको समस्या बुझ्ने र आगामी दिनमा त्यसलाई कसरी हल गर्न सकिन्छ भन्नेबारेमा छलफल गर्दै जनताका भावना बुझ्ने काम गरिरहेका छौँ । अहिले नगरपालिकाको नेतृत्वमा भएकाहरुको कामलाई जनताहरुले मन नपाराइरहेको अवस्था छ । हामीले केही नयाँ र फरक तरिकाले यो नगरपालिकामा काम गर्नुपर्छ भनेर लागिरहेका छौँ । हामी जनताको घरदैलोमा जाँदा उहाँहरु अत्यन्तै खुसी हुनुभएको छ । उहाँहरुले अरु सबै पार्टी हेरिसक्यौँ । अब राप्रपा मात्र हाम्रो विकल्प हो भन्ने गर्नुभएको छ ।

तपाई निर्वाचित हुने आधारहरु के के छन् ?

हिजोका विभिन्न चुनावका बेला शासन सक्तामा रहेका दलका नेता तथा स्थानीय नेताहरुले जनतालाई विभिन्न आश्वासन दिएका थिए । उनीहरुले दिएका कुनैपनि आश्वासनहरु पूरा नभएको अवस्था छ । राप्रपा शंखरापुरले हामी पदमा नरहँदापनि जनताका विभिन्न कामहरु गरेका थियौँ । नगरपालिका तथा वडा कार्यालयबाट जनताका लागि गरिदिनुपर्ने सामान्य कामहरुपनि नगरिदिएको बेला हामी आफै सम्बन्धित ठाउँमा गएर जनताका समस्याहरु समाधान गरिदिने गरेका छौँ । वडा नंबर १ मा हामीले आफ्नै पहलमा बिद्युत नपुगेको घरमा बिजुली पु¥याउने, बाटो सफा गर्ने लगायतका कामहरु गरेका छौँ । केराबारी भन्ने ठाउँमा पहिरो गएर बाटो सबै पुर्दा समेत त्यहाँको वडाध्यक्ष, मेयर लगाउत कसैले पनि मतलव नगरेको पाएपछि हाम्रो पार्टीका स्थानीय नेता दोर्जे लामाको नेतृत्वमा हाम्रो टिमले बाटो बनाउने काम भयो ।
विकासमा पछि परेका ठाउँहरुलाई अघि बढाउँन, महिला सशक्तिकरणका लागि हामीले आफ्नो ठाउँमा सक्दो रुपमा काम गर्दै आइरुहेका छौँ । यूवाहरुको बेरोजगारी कम गर्ने उपाय खोज्ने, बृद्धबृद्धाहरुका लागि बुढेसकालमा बस्ने ठाउँ, योगा गर्ने, भजनकृतन गर्ने ठाउँ, जेष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था जस्ता एजेण्डा अघि सारेका छौँ । जनताले हाम्रो काम र भिजनलाई हेरेर मतदान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

अहिले सत्तारुढ दल तथा प्रतिपक्षी दल समेत गठबन्धन बनाएर चुनावमा जाँदैछन् । अन्य दलहरुले गठबन्धन बनाएर जाँदा कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

अन्य राजनीतिक दलहरुले गठबन्धन बनाएर चुनावमा जाने कुरा आइरहेको छ तर त्यसले हामीलाई कुनै असर गर्ला जस्तो लाग्दैन् । हिजो चुनाव जितेर पनि केही काम गर्न नसकेपछि आज जनताको बिचमा एक्दै जाँदा हारिन्छ भन्ने मानसिकता बोकेर गठबन्धनको रुपमा जान लागेका हुन् । तर उनीहरुलाई जनताले परिक्षण गरिसकेका छन् । उनीहरु कस्ता छन् भनेर चिनिसकेका छन् । पक्कैपनि राजनीतिक दलको गठबन्धन होला तर जनताको गठबन्धन हुँदैन् । उनीहरुले आफ्नो विवेक प्रयोग गर्न गठबन्धनले रोक्न सक्दैन् । अहिले जनताले गठबन्धनलाई स्वीकार्ने पक्षमा छैनन् ।

घरदैलो कसरी गर्दै हुनुुहुन्छ ? चुनाव जित्ने आत्मविश्वास के छ ?

ंअरु दलहरुको उम्मेदवार नै चयन नभएको अवस्थामा म राप्रपाबाट सर्बसहमत उम्मेदवारका रुपमा चयन भएको छु । ठुला दलहरुका कार्यकर्ताहरु गठबन्धनका विपक्षमा देखिएका छन् । मैले पार्टीका कार्यकर्ता, शुभेच्छुक र मतदाताहरुसँगको भेटघाट बाक्लो बनाउँदै लगेको छु । यस क्रममा मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । ती प्रतिक्रियाको आधार हेर्दा मैले चुनाव जित्ने सुनिश्चित छ । जनताले बैकल्पिक शक्तिको खोजी गरिरहेका छन् ।

शंखरापुरमा अहिले राप्रपाको संगठनको अवस्था कस्तो रहेको छ ?

विगत २ वर्षदेखि हामीले शंखरापुरमा राप्रपाको संगठन बिस्तारमा उल्लेख्य सफलता पाएका छौँ । राप्रपाको राष्ट्रवादी बिचारलाई मनपराउने र आत्मसाथ गर्ने जनताहरु बढिरहेका छन् । अन्य दलहरुको क्रियाकलापबाट निराश बनेका जनताले राप्रपालाई बैकल्पिक शक्तिको रुपमा स्वीकार गर्दै एक पटक हामीले काम गरेको हेर्ने अभिलासा लिएर संगठित हुने क्रम बढिरहेको छ । वडा नं. ६ र ७ मा हामी जुन रुपमा बलियो छौँ, अन्य वडाहरुमा पनि अन्य ठूला भनिएका राजनीतिक दलहरुलाई टक्कर दिने पोजिसनमा पुगेका छौँ । वडा नंबर १ मा केही साथीहरु सक्रिय रुपमा लागेपछि संगठनको अवस्था बलियो भएको छ । वडा नं ९ मा पनि हाम्रो बलियो उपस्थिति रहेको छ । वडा नंबर ३ मा पनि हामी बलियो अवस्थामा छौँ । सूर्य तामाङ्जी मेहेनत गरेर लागि रहनुभएको छ । वडा नंबर ३ मा एमसीसी जस्तो राष्ट्रघाती योजना कार्यान्वन हुन लागेको सन्र्दभमा उहाँले जनतालाई जागरुक गराइरहनुभएको छ । जनताले उहाँलाई वडाध्यक्षको रुपमा अघि बढाउन चाहिरहेका छन् । अहिले अरु पार्टी फुटेको बेला हाम्रो पार्टी भने मजबुद भएर अघि बढिरहेको छ । अहिले जनता हाम्रो एजेण्डा, बिकासप्रतिको भवाना देखेर उत्साहित भइरहेका छन् ।

यदी तपाई शंखरापुर नगरपालिका प्रमुखममा निर्वाचित हुनुभयो भने के के काम गर्ने योजना बनाउँनु भएको छ ?

म निर्वाचित भएपछि समृद्ध शंखरापुर नगरपालिका बनाउँनका लागि आश्वयक पर्ने आधारभूत योजनाहरुलाई अघि बढाउनेछु । सडक पूर्वाधार, फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा ५ बर्षे रणनीति बनाएर काम अघि बढाउनेछु । जेष्ठ नागरिकको निःशूल्क स्वास्थ्य परिक्षणको साथै सरकारले दिने बृद्ध भत्तामा थप ५ सय नगरपालिकाको तर्फबाट थप गरेर दिनेछु । नगरपालिका भित्र जुन प्राकृतिक दोहनका कामहरु भइरहेका छन्, त्यसलाई रोक्ने काम गर्छु । महिलाहरुलाई कसरी आत्मनिर्भर गराउन सकिन्छ, के कस्ता तालिमहरुको व्यवस्था गर्नुपर्छ त्यसका लागि बिशेष योजनाहरु अघि बढाउनेछु । कक्षा १२ सम्म निःशूल्क शिक्षाको व्यवस्था गर्नेछु । स्वास्थ्य बिमाका कार्यक्रमहरु अघि बढाउनेछु । बिग्रेका बाटोघाटो मर्मत गरेर बाह्रै महिना सञ्चालन हुनसक्ने बनाउँनेछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *