हामी निर्वाचित भएर आउने वित्तिकै शंखरापुर नगरपालिकामा भूकम्पले ठूलो क्षति पुर्याएको थियो । हामीले लगभग ९० प्रतिशत पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेका छौँ । भुकम्पले भत्काएका ब्यक्तिका ८० प्रतिशत घर सम्पन्न गरेर उनीहरूलाई छानामुनी ल्याइसकेका छौँ । पर्यटन क्षेत्रको विकास अन्र्तगत मणीच्युडमा हामीले शान्ति पार्क निर्माणको शिल्यान्यास गरिसकेका छौँ । जर्सिङपौवामा मिनी फेवातालदेखि लिएर राजनेता र प्रबुद्ध व्यक्तिहरूको पार्क बनाउने कामपनि अघि बढिरहेको छ । भूकम्पले प्रभावित स्कूलहरूपनि ९० प्रतिशत निर्माण सम्पन्न गरिसकेका छौँ ।
शंखरापुर नगरपालिका हामी आफ्नै लगानीमा एउटा क्याम्पस सञ्चालन गर्न लागिरहेका छौँ । यहाँका विद्यार्थीहरू उच्च शिक्षा लिनका लागि बाहिर जानु नपरोस् भनेर क्याम्पसलाई अगाडि बढाउँदैछौँ ।
यो नगरपालिकामा ६ वटामात्र स्वास्थ्य केन्द्र थियो ३ वटा वडामा थिएन । अहिले सबै वडामा जनशक्ति सहित स्वास्थ्य केन्द्रको व्यवस्था गरेका छौँ । कोभिडका बेलामा हामीले यहाँका विरामीहरूलाई निःशुल्क औषधिदेखि उनीहरूको खाना खर्च बेहोर्नेदेखि लिएर आइसियू र भेन्टिलेटरमा राख्नुपर्ने विरामीहरूलाई नगरपालिकाको तर्फबाट ५० प्रतिशत रकम दिने काम गर्यौँ । १२ बर्षदेखि माथिका सबै नागरिकलाई घर घरमा गएर शतप्रतिशत कोभिड भ्याक्सिन लगाउने काम सम्पन्न गरेका छौँ । यहाँको स्वास्थ्य क्षेत्रमा हामीले उल्लेखनीय काम गरेका छौँ । आफ्नै लगानीमा हामीले इन्द्रायणीमा नगर अस्पताल सञ्चालन गरिरहेका छौँ । एक्सरे लगायतका सेवा सुविधा सहितको अस्पताल सञ्चालन भइरहेको छ । यसअघि जर्सिङपौवामा अव्यवस्थित रहेको एम्बुलेन्सलाई अहिले हामीले नगर अस्पताल अन्र्तगत राखेका छौँ ।
यस्तै पूर्वाधारको क्षेत्रमा पनि हामीले धेरै कामहरू गरेका छौँ । म निर्वाचित भएर आउँदाखेरि धेरै बाटोहरूमा खाल्डाखुल्डी बाटो राम्रोसँग जाने अवस्था थिएन । साँखु नगरको सडक हामीले कालोपत्रे गरेका छौँ । इन्द्रायणीको मुख्य बाटो पुरै कालोपत्रे गरेका छौं । साँखुदेखि लप्सेफेदी भञ्ज्याङ्सम्म कालोपत्रे हुँदैछ ।
बज्रयोगिनी डाँडाकटेरी सडकका लागि टेन्डर आह्वान गरेका छौँ । जर्सिङपौवादेखि भोटेचौरसम्मको सडकको थप स्तरोन्नति गरेका छौँ । प्रत्येक वडामा १८ वटा नगरस्तरीय बाटो पहिचान गरेर नगरपालिकाबाट बजेट व्यवस्थापन गरेर सडक बिस्तारलाई अगाडि बढाइरहेका छौँ ।
खानेपानीको सवालमा एक घर एक धाराको अभियान सुरु गरेका छौँ । त्यही आधारमा हामीले बजेट विनियोजन गरेका छौँ । अहिले साँखुको वडा नंबर ६ र ७ को काम लगभग सम्पन्न भइसकेको छ । मणीच्युड खानेपानीको काम सम्पन्न भएको छ । नाङ्ले खानेपानीका लागि हामीले बजेट विनियोजन गरेका छौँ । लप्सेफेदीको भञ्ज्याङ खानेपानीका लागि बोरिङको काम गरिरहेका छौँ । पटापमा पनि खानेपानीका २ ठूला ठूला आयोजना अगाडि बढाईरहेका छौँ ।
कृषिको क्षेत्रमा कुरा गर्ने हो भने यहाँका धेरैजसो मानिसहरू कृषिमा निर्भर छन् । यसअघि धेरै जग्गाहरू बाँझो देखिन्थ्यो, तर अहिले धेरै जग्गामा खेती अघि बढेको छ । कृषिमा सक्षम नगरपालिका बन्नुपर्छ भनेर हामीले कृषि अनुदानको कामपनि सुरु गरेका छौँ । कृषिमा यान्त्रीकीकरण गर्नुपर्छ भनेर हामीले कृषियन्त्र खरिदका लागिपनि हामीले अनुदानको व्यवस्था गरेका छौं । कृषिमा व्यवसायिक खेतीका लागि हाइटेक टनेल खेती लगायत उच्च प्रविधि भित्राएका छौँ ।
यस्तै विपन्नहरूका लागि मेयरसँग यूवा कार्यक्रम भनेर पशुपालनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ । जसको आर्थिक अवस्था कमजोर छ त्यस्ता मानिसहरूलाई पशुपालनमा ५० प्रतिशत अनुदान दिएर अघि बढेका छौं ।
सडकमा असुरक्षा हटाउनका लागि अहिले हामीले मेयरसँग उज्यालो कार्यक्रम भनेर मुख्य मुख्य सडकका पोलमा बत्ति हाल्ने काम गरिरहेका छौँ । ठाउँ ठाउँमा अझैपनि माग भइरहेको छ । अहिले गाउँ गाउँबाटपनि सकारात्मक प्रतिक्रिया आएको छ । बत्ति राख्नुअघि बँदेलले दुःख दिने गरेकोमा अहिले सडक बत्ति राखेपछि बँदेलले दुःख दिन छोडेको भन्ने कुरा आइरहेको छ । अहिले ठाउँमा ठाउँमा बत्ति हाल्नुपर्यो भनेर माग आउन थालेको छ । बँदेलले धेरैको बालीनाली नष्ट गरेको छ । बत्तिको कारणले बँदेल आउन छोड्यो लौन मेयरसाव हाम्रो टोलमा पनि बत्ति थप्नुपर्यो भनेर माग आइरहेको छ । थोरै बजेटमा पनि हामीले उज्यालो पार्ने काम गरिरहेका छौँ ।

हामीले कृषिका क्षेत्रमा, पर्यटनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेका छौँ । साँखु बजार २०७२ सालमा पुरै ध्वस्त थियो । बाटोमा हिड्ने ठाउँ थिएन् । बाटोमा सरसफाइदेखि लिएर हामीले साँखुलाई पुरानै स्वरुपमा ल्याउनुपर्छ भनेर धेरै घरहरूमा पुरानै स्वरुप आउने गरी बनाउँन लगाएका छौँ । परम्परागत स्वरुपमा बनाउने घरको नक्सा पास निःशुल्क गरेका छौँ । राजस्व छुट गरिदिएका छौँ । त्यसरी घर बनाउँनेहरूका लागि प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ अनुदानपनि दिएका छौँ । यसले गर्दा उनीहरू उत्साहित छन् ।
सिंचाईको सन्र्दभमा साँखु राजकुलो, विशम्भरा राजकुलोदेखि लिएर नाङ्लेभारेको सल्ले पाखुरे कुलोसम्म काम भएको छ । यता पटापमा सिस्नेखोलादेखि लिएर सबै ठाउँमा पाँच छ करोडको काम भएको छ । शंखरापुर नगरपालिकामा पहिलेभन्दा अहिले धेरै परिवर्तन ल्याउन सफल भएका छौँ ।
पुरातात्विक सम्पदातर्फ मठ मन्दिरमा पुरातत्व विभागको सहयोगमा लगभग ४० करोड लागतमा बज्रयोगिनी मन्दिर लगायतका सम्पदाहरू अन्तिम चरणमा पुगेको छ । इन्द्रायणी मन्दिर पनि बनेको छ । सालीनदी क्षेत्रमा पनि पहिलेको भन्दा ब्यापक परिवर्तन ल्याएका छौँ । पहिले सालीनदी मेलामा नुहाउनुपर्यो भने खोलामा बोरामा वालुवा भरेर पोखरी बनाउनुपर्ने अवस्था थियो ।
अहिले हामीले त्यहाँ व्यवस्थित पोखरी बनाएका छौँ, झरनाहरू बनाएका छौँ । माधवनाराण स्तम्भ बनाएका छौँ । माधव नारायणको मन्दिर बन्दैछ । स्थानीयले हडपेको जग्गा फिर्ता ल्याएका छौँ । यस्तै भुल्भुमा अतिक्रमण भएको २ सय ३७ रोपनी जग्गा फिर्ता ल्याएर तारबार लगाएर संरक्षण गरेका छौँ । शंखरापुर नगरपालिका हामीले पहिलेको तुलनामा समृद्ध बनाएका छौं ।

प्रतिक्रिया