शंखरापुर नगरपालिका वडा नंबर ६ को सहयोगमा कलश यूवा क्लवले सञ्चालन गरेको ४ दिने बिपद् जोखिम न्यूनिकरण अभिमुखिकरण तथा आगो नियन्त्रण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । चैत २ गते साँखुमा तालिमका सहभागी २३ जनालाई शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरेका छन् ।
साँखु बजारका टोल टोलमा गएर खाना पकाउने ग्याँसबाट हुने आलोलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण सचेतना कार्यक्रम गरिएको छ । तालिम लिने प्रशिक्षार्थीका साथै टोल टोलमा गएर स्थानीयलाई नआत्तिकन कसरी आगो नियन्त्रण गर्न सकिन्छ भनेर तालिम दिइएको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र दिने अवसरमा वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले भने –‘हामी वडाको जनप्रतिनिधिको रुपमा निर्वाचित भइसकेपछि वडाबासीको जिउधनको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो । भोलीका दिनमा क्षणभरमै विपदको सामना गर्नुप¥यो भने यो तालिमबाट प्रशिक्षितहरुले तत्काल उद्धारका काम गर्न सक्नेछन् । हाम्रो सम्पदा बस्ती आगो र भूकम्पको जोखिममा रहेको छ । गुचुमुच्च भएको बस्तिमा लागेको आगो समयमै नियन्त्रण गर्न सकियो भने धेरै जनधनको सुरक्षा गर्न सकिन्छ । त्यसैका लागि नै हामीले यो तालिम कार्यक्रम राखेका हौं ।’
अध्यक्ष श्रेष्ठले ऐतिहासिक कलश पोखरीमा ८ लाख लिटर पानी जम्मा हुनेगरी निर्माण गरिएको र खानेपानीको ट्याङ्कीमा पनि ३४ हजार लिटर पानी जम्मा हुनेगरी बनाइएको जानकारी गराए । यसले आगोलागी नियन्त्रणका लागि सहायता पुग्ने उनको भनाई थियो ।

दमकल नजाने साँखुका बाक्लो सम्पदा बस्तीमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि प्रगति परियोजनासँग मिलेर २ वटा फायर हाइड्रेन्ड स्थापना गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । तालिममा सो हाइड्रेन्ड कसरी सञ्चालन गर्ने भन्नेबारेमा पनि तालिम दिइएको छ ।
चार दिनसम्म चलेको सो तालिम अवधीमा विपदका बेला घाइतेलाई कसरी उद्धार गर्ने, आगोलागी कसरी नियन्त्रण गर्ने, ग्याँसबाट हुने आगोलागी कसरी नियन्त्रण गर्ने लगायतका विषयमा तालिम दिइएको थियो । महिला ११ जना र पुरुष १२ जना गरी २३ जनाले विपद जोखिम न्यूनिकरण सम्बन्धी तालिम पाएका छन् ।
विपद् जोखिममा क्षेत्रमा उल्लेखनीय काम गरेको संस्था आर एन सिक्सिटिनका प्रमुख अरुण सैँजु सहितको ७ जनाको टोलीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि राधाकृष्ण श्रेष्ठ, प्रमुख प्रशिक्षक अरुण सैँजु, अतिथि वडा सदस्य श्रीराम श्रेष्ठ, सभापति सुशनलाल पुतुवार, कार्यक्रम संयोजक रवि मल्ल, उद्घोषक क्लबका सदस्य विकेश डंगोल रहेका थिए ।










प्रतिक्रिया