विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लगाएको छ।

काठमाण्डौं, मंसिर ११ गते ।

रञ्जित कुमार चम्किँदै ५ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लगाएको छ।

बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो। चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन मात्रै बनाउन सक्यो।

चितवनको यो दोस्रो जित हो। जितसँगै चितवनले ३ खेलबाट ४ अंक पुर्‍याएको छ। विराटनगरको भने यो पहिलो हार हो। ४ खेलबाट ६ अंक बटुलेको विराटनगरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

विराटनगरका मर्चेन डी लिङ्गेले सर्वाधिक ३९ रन बनाए। २२ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।

प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्कासहित ३० रनको योगदान दिए। साम हिजलेट २२ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।

चितवनका रञ्जितले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। कमलसिंह ऐरीले २ तथा शोहेल तान्वीर, सैफ जैब र कुशल मल्लले समान १ विकेट राखे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।।

रवी बोपाराले सर्वाधिक ६५ रन बनाए। ३८ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे।

उनको यो जारी प्रतियोगितामा लगातार तेस्रो अर्धशतक हो। उनले कर्णाली याक्सविरुद्ध ५२ र लुम्बिनी लायन्सविरुद्ध ६६ रन बनाएका थिए।

सैफ जैब ३२, देव खनाल २८ र डेबिड मिलान १७ रनमा आउट हुँदा कुशल मल्लले अविजित २० रन बनाए।

विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लेङ्गेले समान २ विकेट हात पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *