काठमाडौं, कार्तिक १७ गते ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गरेका छन् । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वबारे विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले नआउन भनेका छन् ।
उनले भने, ‘आफ्नो घर फर्कन एकता गरिरहनु पर्दैन, घरका सन्तान कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ र ?’
पार्टीमा फर्किनेलाई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने पनि उनले बताए । ‘तर, सर्त एउटै छ – नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर आउनुस्, बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन, । नेतृत्वमा आउन चाहनेलाई पोखरेलले पार्टीको महाधिवेशन आएकाले त्यहाँ प्रतिस्पर्धा गरेर स्थापित हुन पनि आग्रह गरेका छन् ।
तर उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गर्दै साझा व्यक्ति भएकाले अहिले पनि त्यही भूमिकामा रहनु राम्रो हुने बताए ।
राजनीतिमा आउने हो भने पार्टीलाई कनभिन्स गराउन सक्नु पर्ने पोखरेलले बताए । ‘विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुने चाहना राख्नुभयो भने त्यसबारे पार्टीले थप निर्णय गर्नेछ,’ पोखरेलले स्पष्ट पारे ।
एमालेभित्र पछिल्लो समय ‘एकता र पुनर्मिलन’ को बहस तीव्र बन्दै गएको छ । केही समयदेखि एमालेले पार्टी फुटाएर अलग भएका नेताहरूलाई ‘घर फर्कने अभियान’मार्फत् पार्टीभित्र ल्याउने प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया