काठमाडौँ, कात्तिक १२ गते
नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा आज बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले विजयी भएको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । त्यसपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको थियो ।
टाइब्रेकरमा गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोकेको थियो भने भारतको अर्को प्रहार पोस्टमाथिबाट बाहिरीएको थियो ।
भारतले ३०औँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षकको कमजोरीमा सौम्या गुगुलोथले गोल गरेकी थिइन् । भारतको अग्रतापछि जोसिएको नेपालले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो ।
रश्मीकुमारी घिसिङले कप्तान अनिता बस्नेतको कर्नरमा हेड मार्फत गोल गरेको थियो । अनितालाई यस खेलमा नेपाली टोलीको कप्तानीको जिम्मेवारी पाएकी थिइन् ।
यसअघि भारतमै खेलिएको नेपाल, भारत र इरानसम्मिलित त्रिदेशीय खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । नेपाल इरानसँग भने ३–० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया