काठमाडौँ — जेन–जी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग भएको तथ्यांकमा देखिएको छ । दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको प्रहरीले तयार गरेको प्रारम्भिक प्रतिवेदन सार्वजनीक गरेको छ ।
दुई दिनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । यही क्रममा १ हजार ८ सय ८४ रबर गोली प्रहार गरिएको त्यस्तै २ हजार ३ सय ७७ पटक हवाई फायर र ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रहार गरिएको थियो ।
धातुका गोलीमध्ये अधिकांश घातक हतियार इन्सास, एसएलआर र पिस्तोलबाट चलेका थिए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको मृतकको पोस्टमार्टम प्रतिवेदनमा समेत मृत्युको कारण तीव्र गतिको हतियारबाट प्रहार भएको गोली रहेको उल्लेख छ ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै फायरिङ गरिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ । काठमाडौंमा १ हजार ३ सय २९ लाइभ बुलेट प्रहार गरिएको थियो । त्यस्तै १ हजार ४ सय २० रबर बुलेट र १ हजार ४६ हवाई फायर गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । ३ हजार ९६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । काठमाडौं उपत्यकामा मात्रै ६ हजार ८ सय ९१ पटक फायर गरिएको थियो ।
कति गोली चल्यो, कति लुटिए भन्ने विषयमा अझै छानबिन भइरहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताएक छन् । ‘यसमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले काम गरिरहेको छ,’ उनले भने ।
प्रदर्शनकारीले हतियार र गोलीसम्बन्धी विवरण नष्ट भएको छ । ‘त्यसैले प्रहरी प्रधान कार्यालयसँग भएको तथ्यांकसँग भिडाएर जाँच थालिएको छ,’ समितिका एक सदस्यले भने ।

प्रतिक्रिया