काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विाभगको टोली पुगेको छ । हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले जानकारी दिएको हो ।
‘टोलीले आज मुचुल्का उठाउने काम गरेको छ । अन्य काम पनि अघि बढाइरहेका छौं,’ विभाग स्रोतले भन्यो ।
जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो । घटनाको ११ दिनपछि विभागको टोली गएर मुचुल्का गरेको छ ।
बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिएको थियो । रकम भेटिएको भिडियोहरू सार्वजनिक भएपछि आज विभागको टोली मुचुल्का गरेको हो । जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का भएको छ । त्यसपछि यो विषयमा अनुसन्धान गरिने विभाग स्रोतले बतायो ।

प्रतिक्रिया