बैशाख ३०, काठमाडौं ।
शंखरापुर नगरप्रमुख रमेश नापितले नगरपालिकाका विभिन्न वडाका कृषकहरुका लागि १ हजार किलो बर्षे घाँसको बिउ वितरण गरेका छन् ।
पशुपालनमा आवद्ध रहेका कृषकहरुका लागि पशुआहारमा सुधारगरी उत्पादनमा बृद्धि गर्ने उद्धेश्यका साथ सो विउ वितरण गरिएको हो । नगरपालिकाको पशु स्वास्थ्य विभाग मार्फत नगरपालिकाका ८० जना भन्दा बढी कृषकलाई उन्नत घाँसको बिउ वितरण गरिएको पशुस्वास्थ्य शाखा प्रमुख गंगाबहादुर थापामगरले जानकारी दिए ।

मकैचरी भन्ने उन्नत जातको घाँसको विउ किसानहरुका लागि दिइएको हो । यो बर्षे घाँसको बिउ रहेको र एक पटक लगाएपछि ४ पटक सम्म काट्न मिल्ने थापामगरले बताए । २ केजी बिउले एक रोपनी क्षेत्रमा घाँस लगाउन सकिने उनको भनाई छ ।
उनले भने–‘यो ठ्याक्कै मकैको जस्तै बोट हुने घाँसको प्रजाती हो । एक पटक लगाएपछि ४ पटकसम्म काट्न मिल्छ । यो घाँस लगाउने तरिका ठ्याक्कै मकै छरेजस्तै हो ।’

२ लाख बजेटमा १ हजार किलोग्राम बिउ घाँसका लागि आवेदन दिएका सबै किसानलाई वितरण गरिएको हो । आवेदन नदिएका तर बिउ बितरण कार्यक्रममा आइपुगेका किसानलाई पनि बिउ वितरण गरिएको उनले बताए ।
घाँउको विउ वितरण कार्यक्रममा नगरप्रमुख नापितले कृषकहरुलाई पशुपालन गर्न सहज होस भन्ने लक्षका साथ घाँसको बिउ वितरणको कार्यक्रम ल्याएको बताउँदै नगरपालिकाले आगामी दिनमा पनि कृषकहरुका लागि यस्ता कार्यक्रमहरु अघि बढाउने जानकारी दिएका छन् । यो घाँसबाट साइलेज बनाएर पनि राख्न सकिने भएका कारण कृषकहरुका लागि उपयोगी हुने नगरपालिकाको भनाई छ ।
घाँसको बिउ वितरण गर्नुअघि नगरपालिकाले इच्छुक कृषकहरुबाट आवेदन माग गरेको थियो । सोही आवेदन अनुसार कृषकहरुलाई घाँसको बिउ वितरण गरिएको थियो ।


प्रतिक्रिया