मंसिर २७, काठमाडौं ।
काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स स्कुल तथा कलेजले रक्तदान तथा निःशूल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार सेन्ट लरेन्स स्कुलमा भएको सो कार्यक्रममा १ हजार ५४८ जनाले निःशूल्क स्वास्थ्य परिक्षण गरेका छन् भने ६५ पिन्ट रगत संकलन भएको छ ।
सेन्ट लरेन्स स्कुल तथा कलेजको सहयोगमा लायन्स क्लब अफ काठमाडौं युनाइटेट ग्रुपको व्यवस्थापनमा रक्तदान कार्यक्रम गरिएको हो भने काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी)को प्राविधिक सहयोग र लाइफ लाइन हेल्थ होम केयर प्राली (पोलिक्लिनिक एण्ड वेलसेन) पुल्चोकको सहयोगमा स्वास्थ्य शिविर गरिएको कलेजका अध्यक्ष केशवप्रसाद दंगालले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, नाक कान घाँटी, भिडियो एक्स–रेका साथै ल्याव टेष्टको सेवा उलपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो जानकारी दिनुभएको छ ।
कलेजका अध्यक्ष दंगालले भन्नुभयो–‘यो निःशूल्क स्वास्थ्य शिविरबाट यो वरीपरी रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु, स्कुलमा पढ्ने विद्यार्थी भाई बहिनीहरु र उनीहरुका अभिभावकहरुको स्वास्थ्य परिक्षण गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो । अरुको ज्यान जोगाउने कामका लागि रक्तदान गरिरहेका छौँ भने आफ्नो स्वास्थ्य कस्तो छ भनेर थाहा पाउनका लागि स्वास्थ्य परिक्षणको कार्यक्रमपनि गरिरहेका छौं । यसप्रकारको काम सेन्ट लरेन्स कलेजले नियमित रुपमा गर्दै आइरहेको छ, प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रमपनि गर्दै आइरहेको छ । एकबर्षमा हामीले तीन देखि चार महिनाको फरकमा हामीले रक्तदान र स्वास्थ्य शिविरको काम गर्दै आइरहेका छौँ । यसबाट यस क्षेत्रका स्थानीयबासीका साथै विद्यार्थी र उनीहरुका अभिभावक लाभान्वित भइरहेका छन् ।’

सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले विभिन्न १० प्रकारका ल्याव टेष्ट सहित निःशूल्क स्वास्थ्य शिविर गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘कुनैपनि रोग लाग्नुभन्दा पहिले नै त्यसको परिक्षण गर्नु उत्तम हुने भएकोले स्कुल लेभलदेखि प्लस टु, ब्याचलर र मास्टर्स लेभलका विद्यार्थीहरुको सहभागीतामा यो स्वास्थ्य परिक्षण भएको हो । हामीले रक्तदान कार्यक्रमपनि राखेका छौँ । यूवा अवस्थामा प्रवेश गरेका भाईबहिनीका लागि रक्तदान सुरु गर्ने यो उत्तम समय पनि हो । हामीले उनीहरुलाई यो उमेरमै उत्प्रेरित गर्न सक्यौँ भने उनीहरुले जिवनभरी तीन तीन महिनामा रक्तदान गर्नुहुनेछ भन्ने हामीले आशा पनि राखेका छौँ ।’
सो स्वास्थ्य शिविरमा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने लायन्स क्लब अफ काठमाडौं युनाइटेट ग्रुपका पदाधिकारीहरुलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।
सो निःशूल्क स्वास्थ्य शिविरबाट स्कुल–कलेजका बिद्यार्थी, अभिभावकका साथै स्थानीयबासी लाभान्वित भएका छन् ।








प्रतिक्रिया