काठमाण्डौं अहिले देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराको असरले नेपालमा पानी परेको छ ।
यसको असरले राजमार्ग तथा हवाइ उडान समेत बन्द गरिएको छ ।
जान्नुहोस्, कुन सडकको अवस्था के छ ?
नागढुंगा–मुग्लिन सडकखण्ड बन्द
बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोका कारण दुईतर्फी सडक बन्द छ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा गाडी चलाउन रोक
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो नखसे पनि यात्रामा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले गाडी चलाउन रोक लगाएको छ । मुग्लिनतर्फ जाने गाडीहरुलाई भरतपुर, नारायणगढका सुरक्षित स्थानमा रोकिएको छ।
मुग्लिन–पोखरा सडकमा लामो दुरीका गाडीलाई रोक
मुग्लिनदेखि–कोत्रेसम्म र कोत्रेदेखि–पोखरासम्मको बाटोमा पहिरो छैन । तर यात्रामा जोखिम रहेकाले सो बाटोमा लामो दुरीका सवारी साधनलाई चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । गाडीहरुलाई कोत्रे, बेलचौचारा, थर्पु, दमौली, डुम्रे, आँबुखैरेनी, मुग्लिनमा रोकिएको छ ।
आँबुखैरेनी–गोरखा र डुम्रे–लमजुङ सडक खुला
आँबुखैरेनी–गोरखा सडकखण्ड र डुम्रे–लमजुङ सडकखण्ड खुला छ । सवारी साधनलाई रोक लगाइएको छैन ।
बीपी राजमार्ग दिउँसोमा पनि बन्द
बीपी राजमार्ग दिउँसोको समयमा पनि पूर्णरुपमा बन्द गरिएको छ । यसअघि असोज १६ गतेदेखि २१ गतेसम्म दैनिक साँझ ५ बजेबाट बिहान ५ बजेसम्म मात्र बन्द गरिएको थियो ।
पृथ्वी राजमार्ग
धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१० जवाङखोला खण्डमा शनिबार पहिरो खस्दा बाटो पूर्ण अवरुद्ध छ ।
अरनिको राजमार्ग
सिन्धुपाल्चोकको चारकिलो (भोटकोशी) क्षेत्रमा १६ असोजदेखि सडक भासिँदा अवरुद्ध छ । १७ गते सानो सवारीका लागि आंशिक खुलेको थियो, तर १८ गते बिहान थप भासिँदा फेरि पूर्ण बन्द भएको हो ।
पासाङ ल्हामु राजमार्ग
रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल गत असार २४ गतेदेखि नै क्षतिग्रस्त भई आवागमन पूर्ण बन्द छ ।
घट्टेखोला, बालुवाखानि र तातोपानी खण्डमा १६ असोजदेखि नै पहिरो र ढुङ्गा खस्दा बाटो निरन्तर बन्द छ ।
कोशी राजमार्ग
भोटखोला–बरुणखोलामा गत ०६ जेठबाटै बाढीले ह्युम पाइप बगाउँदा सडक अवरुद्ध छ ।
मकालु–एकुवा खण्डमा गत १५ भदौदेखि नै पहिरोले बाटो पूर्ण बन्द छ ।

प्रतिक्रिया