के युएइ लगायतको प्रमुख गन्तव्य मुलुकहरूले नेपाली श्रमिकहरूलाई भिसा दिन बन्द गरेको हो त ?

काठमाण्डौं – प्रमुख गन्तव्य मुलुकहरूले नेपाली श्रमिकहरूलाई भिसा दिन बन्द गरेको भन्दै सामाजीक संजालहरुमा आएको तरंगले सबैको चिन्ता र चासो बढेको छ । तर यस बारे हालसम्मा कुनै पनि देशबाट आधिकारीक सुचना प्राप्त भएको छैन ।

यस सन्दर्भमा वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले युएईले भिजिट भिसामा जान रोक लगाएको भए पनि कामदार भिसामा जान नरोकेको बताए । त्यसबाहेक जापान, कोरिया लगायत अरू देशमा जान त कुनै समस्या नभएको उनले सन्चारकर्मीहरुलाई जानकारी गराएको छ ।

’युएईले कामदार भिसामा कडाइ गर्न थाल्यो भन्ने पनि हामीलाई आधिकारिक जानकारी छैन,’ विभागका निर्देशक ढकालले भने, ’हामीले श्रम स्वीकृति दिइरहेकै छौं ।’

इपिएस शाखाका प्रमुख राजकुमार राईले दक्षिण कोरियाले इपिएसमार्फत् नियमित श्रमिक लगिरहेको बताए । ’इपिएसमार्फत् श्रमिकहरू नियमित उडिरहनुभएको छ । कुनै अवरोध छैन,’ प्रमुख राईले भने ।

शाखाका अनुसार अहिले इपिएसमार्फत सातामा औसत २५० हाराहारी श्रमिक उडिरहेका छन् । यही असोज ५ देखि ८ गतेसम्म २६८ जना श्रमिक कोरिया उड्दैछन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले भने गन्तव्य मुलुकहरूले श्रमिक लैजान रोक नलगाएको तर कतिपय मुलुकले भिसा दिन कडाइ गरेको बताए ।

’कामदार लैजानै रोकेको त होइन, तर केही मुलुकले भिसा स्वीकृत नगरेको अवस्था हो । साउदी, युएई लगायत मुलुकले नेपालको जेन–जी प्रदर्शनपछि आन्तरिक सुरक्षाको कारण देखाउन थालेका छन् । आधिकारिक रूपमा चाहिँ केही भनेका छैनन्,’ उनले भने, ’तर अनौपचारिक रूपमा जेलबाट कैदीबन्दीहरू बाहिर निस्किएकाले अपराधमा संलग्न व्यक्तिहरू आफ्नो देश नछिरून् भन्ने उनीहरूको चासो छ ।’

युएईले पनि नयाँ भिसा स्वीकृतिका लागि प्रहरी रिपोर्ट अनिवार्य माग्ने कुरा उठेको उनले बताए । यसबारे पनि आधिकारिक जानकारी आएको छैन ।

भिजिट भिसामा जो कोही तुरून्तै जानसक्ने जोखिम भएकाले युएईले तुरून्तै बन्द गरेर कामदार भिसा पनि स्वीकृत नगरेको उनले बताए ।

’अहिले पुरानो जारी भइसकेको भिसाबाट श्रमिकहरू गइरहेका छन् । अहिले दिएको आवेदन चाहिँ होल्डमा छ । नयाँ भिसाहरू नै लागेको छैन,’ उनले थपे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *