अधिकांश स्थानमा मतगणना जारी,३० स्थानमा रास्वपाको अग्रता

Gantabya News

२२ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अधिकांश स्थानमा मतगणना सुरु भएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अधिकांश स्थानमा अग्रस्थानमा देखिएको छ ।

पछिल्लो मतपरिणामअनुसार ३४ स्थानमा जारी मतगणनामा ३० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। तीन स्थानमा एमाले र १ स्थानमा काँग्रेसले १ स्थानमा अग्रता लिएको छ ।

यस्तै, काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं ३ मा रास्वपाका राजु पाण्डे २,९६० मतका साथ शीर्ष स्थानमा रहेका छन् । उनलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २,७०६ मतसहित पछ्याइरहेका छन् । चितवन ३ मा सोविता गौतम ९२५ मतसहित अगाडि छिन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीकी रेणु दाहाल ६७९ सहित पछ्याइरहेका छन् ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् । शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् । चितवन २ रास्वपाका रवि लामिछाने १,१५८ मतसहित अगाडि छन् । नेकपा एमालेका अस्मिन घिमिरे ९०८, नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङ ७७५ र नेपाली कांग्रेसकी मिना कुमारी खरेल ५३९ मत पाएका छन् ।

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले एकलौटी अग्रता लिएका छन् । उनले ६,१२७ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सपना राज भण्डारीले ७३७ मत प्राप्त गरेकी छिन् । भक्तपुर १ मा रास्वपाका रुकेश रञ्‍जित ८८८ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।

काठमाडौं १ मा रन्जु दर्शनाले फराकिलो अग्रता लिएकी छिन् । उनले ६,०४२ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी प्रवल थापा क्षेत्रीले २,९३२ मत प्राप्त गरेका छन् ।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *