नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोट को भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो ।
उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ ।
‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक सामाजिक सञ्जाल अकाउन्ट एक्समा उल्लेख छ ।
एउटा सार्वभौम देशको नोटलाई विरोध गर्न उनीहरूले दुई वटा कारण अघि सारेका छन् । पहिलो, त्यसमा प्रकाशित नक्सा र दोस्रो, नोट छाप्ने कम्पनी ।
सयको नोटमा नेपालले पहिलो पटक नक्सा प्रयोग गरेको होइन । नेपाल राष्ट्र बैंकले रु. ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट निष्कासन गर्दै आएको छ । त्यसमध्ये रु. १०० को नोटमा नेपालको नक्सा छ । त्यही नक्सालाई नयाँ नोट छाप्दा अद्यावधिक मात्र गरिएको बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
उनले भने, ‘हामीले नोटमा पहिला नै भएको नक्सालाई संविधान र नेपाल सरकारको निर्णय अनुसार अद्यावधिक मात्र गरेका हौं ।’
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नोट डिजाइनको अधिकार राष्ट्र बैंकलाई दिए पनि डिजाइन र साइज परिवर्तन गर्नुपर्दा नेपाल सरकारसँग स्वीकृत लिनुपर्दछ ।

प्रतिक्रिया