सुदन गुरूङले गृहमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।

Gantabya News

२१ कार्तिक २०८२, बिहीबार

काठमाण्डौं, कार्तिक २० गते ।

जेन–जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त माग गरेको हो ।

उनले कडा सन्देशमा सरकार र मन्त्रीको निष्क्रियता, भ्रष्टाचारविरुद्धको कमजोरी र न्यायमा ढिलासुस्तीबारे तीव्र आलोचना गरेका छन् ।

गुरूङले लेखेका छन्, ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन–जीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।’

उनले गृहमन्त्रीलाई जनताको विश्वास तोडेको आरोप लगाउँदै तत्काल जिम्मेवारी त्याग्न आग्रह गरेका छन् ।

उनले थप भनेका छन्, ‘अब दुई महिना हुन लागिसक्यो, न कुनै भ्रष्टाचारको कारबाही भयो, न कुनै हत्यारा पक्राउ। यो मौनता अपराधको समर्थन हो ।’

गुरूङले आफूलाई विगतमा भ्रामक समाचार र चरित्र हत्या अभियानले लक्षित गरेको दाबी गर्दै भनेका छन्, ‘मलाई केही फरक पर्दैन, तर अब तपाईँ (गृहमन्त्री) बाट आशा सकिएको छ ।’

उनको भनाइमा यो आन्दोलन कुनै राजनीतिक सौदाबाजी होइन, राष्ट्रको भविष्य सुरक्षित गर्न युवाहरूको आवाज हो ।

‘८४ को चुनाव ८२ मा सार्नका लागि यो आन्दोलन होइन,’ उनले चेतावनी दिंदै भने, ‘यदि नेपाली जनता र जेन्जीका माग सम्बोधन भएनन् भने, यसपालिको चुनाव हुन दिइने छैन ।’

गुरूङको सन्देशलाई अन्तरिम सरकारप्रति युवाहरूको बढ्दो असन्तुष्टि र उत्तरदायित्वको मागको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *