काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर ६ को सबैभन्दा ठुलो बैकल्पिक खानेपानीको तलेजु भवानी खानेपानीको ट्याङ्की तथा कलात्मक धाराको उद्घाटन सम्पन्न भएको छ । वडा नंबर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले एक समारोहका बिच खानेपानीको ट्याङ्की तथा कलात्मक धाराको उद्घाटन गरेका छन् ।
शंखरापुर नगरपालिका वडा नंबर ६ ले व्यवस्था गरेको बजेट तथा स्थानीय जनश्रमदान र चन्दादाताको सहयोगमा तलेजु भवानी उपभोक्ता समितीबाट ३४ वटा सार्वजनिक धारा सन्चालनमा आएको हो ।
यस्तै अन्य ३ वटा उपभोक्ता समितीबाट पनि वडा नंबर ६ मा १६ वटा गरि ५० वटा सार्वजनिक धाराबाट खानेपानी संचालनमा रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।


गोर्खाप्रेससँग कुरा गर्दै वडाध्यक्ष श्रेष्ठले भने–‘हामी जनप्रतिनिधि भएर आउनुअघि यस वडामा खानेपानीको हाहाकार थियो । हामी निर्वाचित भएपछि घर घरमा खानेपानीको व्यवस्था गर्न पनि सुरु गरेका थियौं । वडाबाट बजेट व्यवस्थाप र जनताको सहभागितामा हामीले ३४ वटा सार्वजनिक धाराको व्यवस्था गरेका छौँ । यो योजना तलेजु उपभोक्ता समिति मार्फत सम्पन्न भएको हो । भक्तपुरको छार्लिङको बनमा रहेको मुहानबाट हामीले ब्यापक जनसहभागितामा एक हप्ताभित्रमा पानी ल्याउन सफल भयौँ । टाढा टाढा गएर खानेपानी लिन जानुपर्ने अवस्था अन्त्य भएको छ ।’
पानी आएपछि साँखुका स्थानीयहरु अत्यन्तै हर्षित भएका छन् । सार्वजनिक धाराबाट दुई देखि तीन सय परिवारका साथै बाटो हिड्ने सर्वसाधरण समेत लाभान्वित भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

सो खानेपानी योजना सम्पन्न गर्नका लागि ४ बर्षमा वडा नंबर ६ बाट २४ लाख बजेट छुट्याएको थियो । यस्तै ५ हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्नेहरु ७२ जनाको नाम ताम्रपत्रमा राखेर सम्मान पत्र पनि प्रदान गरिएको छ । चन्दादाताबाट करिब ६ लाख रुपैयाँ संकलन भएको र त्यसको स्पष्ट हिसाव राखिएको श्रेष्ठले बताए । सो रकमलाई खानेपानी आयोजना सुधारका लागि कोष बनाएर राखिने उनको भनाई छ ।
सो खानेपानी आयोजनाको कूल बजेट ३० लाख रुपैयाँ हो । वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगत रुपमा १ लाख २५ हजार २५ रुपैयाँ सहयोग गरेका छन् ।

खानेपानी आयोजनाको कामबारे जानकारी दिँदै श्रेष्ठले भने–‘सुरुमा हामीले पानीको मुहानमा सानो प्लाष्टिकको इन्टेक ट्याङ्की बनाएर पानी ल्याएका थियौँ । अहिले हामीले मुहानस्थलमै व्यवस्थित ट्याङ्की र साँखुमा ३५ हजार लिटरको एउटा पक्की ट्याङ्की र प्लाष्टिकको ट्याङ्कीमा १५ हजार गरेर ५० हजार लिटर क्षमताको ट्याङ्कीको व्यवस्था गरेका छौँ ।’

वडाध्यक्ष श्रेष्ठले तलेजु भवानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्यामकाजी मानन्धर, उपाध्यक्ष दयाराम पुतुवार, सचिव धर्मभक्त मल्ल, कोषाध्यक्ष सान्नानी डंगोल, सदस्यहरू, बिकेश डंगोल, रवि मल्ल, शारदा देवि श्रेष्ठ ,राज्यलक्ष्मी मानन्धर, रम्विका श्रेष्ठ अनुगमन समितिका सदस्यहरू कृष्णलाल पुतुवार, सत्य नारायण मल्ल, राजकाजी मानन्धर लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण वडाबासीहरू शंखरापुर वडा नं. ६ को तर्फबाट धन्यबाद ज्ञापन गरेका छन् ।




प्रतिक्रिया